
दोलखा, १९ कात्तिक । नेकपा एमालेका पोलिटब्युरो सदस्य एवम् पूर्वमन्त्री पार्वत गुरुङले नेकपा एमालेले दोलखामा कसैलाई पनि बुथ कब्जा गर्न नदिने घोषणा गरेका छन् ।
पाँचदलीय सत्ता गठबन्धले दोलखामा बुथ कब्जा गरेर मात्रै चुनाव जित्ने मनोविज्ञान पालेर बसेको बताउनुहुँदै उनले बुथ कब्जा गर्ने दुष्प्रयास गर्नेलाई कडा चेतावनी समेत दिएका छन् ।
‘गठबन्धनले बुथ कब्जा गरेर चुनाव जित्छु भनेर जनतामा प्रचार गरेर भ्रम पैदा गरेको छ, त्यो मनोविज्ञान लिएर हिँडेको छ । म तपाइँहरूलाई भन्न चाहान्छु– अब नेकपा एमाले दोलखाले यही चुनावबाट त्यो बुथ कब्जाको दुष्प्रयास अन्त्य गर्ने सार्वजनिक घोषणा गर्दछ । दोलखाको कुनै पनि ठाउँमा बुथ कब्जा हुने छैन, ढुक्क भएर मतदान गर्न सकिने छ,’ उनले भने, ‘यति हुँदाहुँदै पनि बलजफ्ती कसैले जनताको स्वविवेक अपहरण गरेर बुथ कब्जा गर्ने हिम्मत गर्छ भने त्यस्ता अपराधिक व्यक्ति जनताको बीचमा हुन्छ कि हुँदैन, दोलखामा रहन्छ कि रहँदैन म खुलारूपमा चुनौती दिन चाहान्छु ।’
दोलखामा गठबन्धनले चुनाव जित्ने मनोविज्ञान पालेर बसेको भए पनि उनीहरूको त्यो सपना पूरा हुन एमालेले नदिने उनको भनाई छ । ‘दोलखाको प्रमुख शक्ति अहिले पनि एमाले हो र भविष्यमा पनि एमाले नै हुनेछ । विभिन्न शक्तिको प्रयोगबाट चुनाव जित्ने सपना केवल सपनामै सीमित पारिने छ,’ उनले भने ।
यस्तै उनले गठबन्धनले राज्यको नियम र विधि उल्लंघन गरेर चुनावी प्रचार गरिरहेको आरोप पनि लगाएका छन् । ‘आज गठबन्धन छाडा छ, उसलाई आचारसंहिताको मतलव छैन,’ गुरुङले भने, ‘निर्वाचन आयोगले तोकेको आचारसंहिताबमोजिम एमालेले आफ्नो चुनावी अभियान अगाडि बढाउँछ, सांस्कृतिक कार्यक्रम र आमसभाहरू आयोजना गर्छ । दोलखामा आचारसंहिता मानेर चुनावी प्रतिस्पर्धा गर्ने पार्टी एमालेमात्रै हो ।’ उनले नेकपा एमालेले आचारसंहिताको परिधिभित्र रहेर स्वस्थ ढङ्गबाट प्रचारप्रसार गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् ।
उनले विपक्षी पार्टीले प्रतिनिधि सभा सदस्य बालकृष्ण शिवाकोटीमाथि लगाएको सम्पूर्ण आरोप नियतवश लगाएकाले त्यसमा कुनै सत्यता नभएको स्पष्ट पारे । दोलखाबाट प्रतिनिधिसभामा बालकृष्ण शिबाकोटी तथा प्रदेश सभा (क) मा नरबहादुर श्रेष्ठ र प्रदेश सभा (ख) मा भरतबहादुर केसी उम्मेदवार छन् ।















प्रतिक्रिया