२ कार्तिक २०८३, सोमबार

भक्तपुरका वृद्धवृद्धाको उद्घोष : ‘एमाले प्राणभन्दा प्यारो छ, हाम्रो भोट सूर्यलाई’ (तस्वीरसहित)

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १८ कात्तिक । भक्तपुरको सूर्यविनायक नगरपालिका–१ सिरुटार तथा मध्यपुर नगरपालिका–६ मा एमालेका उम्मेदवारहरूले घरदैलो कार्यक्रम गरेका छन् ।

दुवै क्षेत्रमा करिब एक–एक दर्जन वृद्ध–वृद्धाहरूले एकै स्वर गुञ्जियो, ‘बुढेसकालको सहारा एमाले हो, एमाले हाम्रो जीवनको सहारा हो । हाम्रा लागि प्राणभन्दा प्यारो छ । त्यसैले हाम्रो भोट सूर्यलाई नै हो । अरु चिह्नमा त हाम्रो हात नै लाग्दैन ।’

जिल्लाको क्षेत्र नं. २ अन्तर्गत एमालेका उम्मेदवारहरूले घरदैलो कार्यक्रमलाई तीव्र रूपमा अगाडि बढाएका छन् । यस क्रममा जनताको गुनासो र त्यसको समाधानको जिम्मा लिँदै एमाले भक्तपुर क्षेत्र नं. २ प्रतिनिधिसभाका उम्मेदवार महेश बस्नेत तथा प्रदेश सभा अन्तर्गत क्षेत्र नं. २ ‘क’ सूर्यविनायक नगरपालिका क्षेत्रका उम्मेदवार किरण थापा र क्षेत्र नं. २ ‘ख’ क्षेत्रका उम्मेदवार चन्दनकृष्ण श्रेष्ठ जनताको माझमा होमिएका छन् । प्रतिनिधि सभा सदस्यका उम्मेदवार बस्नेत एमाले पोलिटव्युरो सदस्य तथा पूर्वमन्त्री हुन् ।

यसै क्रममा एमालेले शुरु गरेको ज्येष्ठ नागरिकलाई दिइने भत्ता वृद्धवृद्धाको जीवन सहारा बनेको छ । रू. एक सयबाट मनमोहन अधिकारीले शुरु गर्नुभएको उक्त भत्ता अहिले रु चार हजार पुगेको छ । जसले बुढेसकालको जीवनयापन गर्न महत्वपूर्ण सहयोगी बनेको छ । यसैले गर्दा नै आम भक्तपुरका वृद्धवृद्धाको भोट सूर्यलाई दिने उनीहरूको भनाई थियो । ‘हाम्रो भोट त इट्टा भट्टामा पोल्नेलाई होइन, वृद्धभत्ता दिनेलाई हो । त्यो भनेको सूर्य हो । त्यसैले हाम्रो आर्शीवाद छ, सूर्य त आयो–आयो, विजयको झण्डा फहराउँछ–फहराउँछ,’ गोपाल प्रजापतिले भने ।

एमालेका उम्मेदवार बस्नेत र थापालाई चन्द्रमायाँ श्रेष्ठले उत्साहित हुँदै भनिन्, ‘जित निश्चित छ, राम्रो काम गर्नु । भक्तपुरले रोजेको, आम वृद्धवृद्धा, युवा, महिला तथा वालबालिकाले खोजेको नेता बन्नु । हाम्रो ठाउँको विकासले पुरै नेपाललाई चिनाउनु । हाम्रो मन मस्तिष्कमा महेश बस्नेत, किरण थापा र चन्दनकृष्ण श्रेष्ठ र एमालेका नेताहरू हुनुहुन्छ ।’

वृद्धवृद्धाको उत्साहजनक आवाजलाई आत्मसात् गर्दै एमालेका उम्मेदवारहरूले आम भक्तपुरवासीको साथ र सहयोग आफ्नो लागि पाँच वर्ष सेवा गर्ने ठूलो जिम्मेवारी रहने बताउँदै भक्तपुरवासीको विकास र समृद्धिको चाहना पूरा हुने विश्वास दिलाए । नेता बस्नेतले भने, ‘तपाईहरूको एक–एक भोटको ऋणी हामी बन्नेछौं, तपाईहरूको एक भोटले गर्दा हामी विजयपश्चात् तपाईहरूको सेवामा पाँच वर्ष खट्नेछौं । भक्तपुरको विकास र समृद्धिको यात्रामा जनताले जनप्रतिनिधिलाई खोज्ने भन्दा पनि आफै खोजेर जनताको घरदैलोमा आउने तथा दुःख–सुखमा साथमा रहनेछौं ।’

कार्यक्रममा एमाले केन्द्रीय सदस्य निर्मल भट्टराई, बागमती प्रदेशका सदस्य शसीजंग थापा, मदनसुन्दर श्रेष्ठ, राजेन्द्र राजथला, जिल्ला अध्यक्ष बचन देउजा, उपाध्यक्ष बाशुदेव थापा, एमाले समानुपातिक उम्मेदवार सकुन्तला श्रेष्ठ, अनेमसंघ भक्तपुरको अध्यक्ष उत्तरा नेपाललगायत नेता तथा कार्यकर्ताको साथमा स्थानीयवासीको उल्लेख्य सहभागिता थियो ।