२ कार्तिक २०८३, सोमबार

घर–घरमा पुग्दै एमालेका उम्मेदवार (तस्वीहरू)

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

उदयपुर, १८ कात्तिक । सत्तारुढ गठबन्धनका उम्मेदवार बागीलाई मिलाउन व्यस्त रहेको बेला उदयपुरमा नेकपा एमालेका उम्मेदवारले पहिलो चरणको घरदैलो अभियान सम्पन्न गरेका छन् ।

प्रतिनिधिसभाका दुबै क्षेत्र र चार वटै प्रदेशका उम्मेदवारले पहिलो चरणको वडास्तरीय घरदैलो कार्यक्रम सम्पन्न गरेका हुन् । विशिष्ट चाडपर्वको शुभकामना आदानप्रदान र चियापान कार्यक्रमको नाम दिएको एमालेले प्रारम्भिक चरणमा मतदातासँग भेटघाट सम्पन्न गरेको जनाएको छ ।

एमाले अध्यक्ष परमेश्वर घिमिरेका अनुसार पहिलो चरणको कार्यक्रम सम्पन्न गरी दोस्रो चरणमा निर्वाचन आयोगले चुनाव प्रचारप्रसारलाई दिएको समयसीमा अनुसार बिहीबारदेखि उम्मेदवारहरू घरदैलोमा पुगेका छन् ।

उनले भने, ‘दुबै क्षेत्रमा पार्टी जिल्ला कमिटीले मुल आयोजक कमिटीसमेत परिचालन हुने गरी कार्यक्रम तय गरेको छ त्यही अनुसार नेता कार्यकर्ता परिचालन हुनु भएको छ ।’

क्षेत्र नंं १ अन्तर्गत प्रतिनिधिसभाका सदस्यका उम्मेदवार मन्जुकुमारी चौधरी, प्रदेशसभा सदस्य १ का उम्मेदवार कुशलबाबु बस्नेत र २ का उम्मेदवार ईश्वरमणि राउत, क्षेत्रनं २ अन्तर्गत प्रतिनिधिसभा सदस्यका उम्मेदवार अम्बरबहादुर रायमाझी, प्रदेशसभा सदस्य १ का उम्मेदवार देवराज राई र २ का उम्मेदवार जिवनाथ दहाल मतदाताको घरदैलोमा पुगेको उनले जानकारी दिए ।

आगामी मंसिर ४ मा हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्यका निम्ति उम्मेदवार बनेपछि पहिलोचरण सकेर दोस्रोचरणको कार्यक्रममा जुटेका हुन् । उत्साहजनक उपस्थितिकासाथ घरदैलोमा पुगेका क्षेत्र नं. २ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार अम्बरबहादुर रायमाझीले विजयी सुनिश्चित रहेको बताए ।

उद्देश्य र लक्ष्यविहीन बनेको गठबन्धनको भविष्यप्रति जनतामा विश्वास नरहेकाले विकास र समृद्धिका लागि जनताले एमाले रोज्ने विश्वास उनले व्यक्त गरे ।

निर्वाचनको मिति नजिकिदै जाँदा गठबन्धन दलहरूबीच भने मनमुटाव अझ चर्किदै गएको छ । बागी उम्मेदवारले मनोनयन फिर्ता नलिएपछि उनीहरू थप समस्यामा फसेका हुन् । अधिकांश गठबन्धनका उम्मेदवार निर्वाचनमा मतदाताको घरमा पुगेर भोट माग्ने भन्दा पनि बागी उम्मेदवार फकाउने र रिझाउनेमा व्यस्त देखिएका छन् ।

लोकप्रिय नेताहरू बागी उम्मेदवार बनेपछि गठबन्धनभित्र खैलाबैला सुरू भएको हो । त्यति मात्र नभई स्थानीय तहको निर्वाचनमा देशव्यापीरूपमा गठबन्धन भइरहँदा त्रियुगा, कटारी र चौदण्डीगढी नगरपालिका क्षेत्रमा एकले अर्काको अस्तित्व स्वीकार नगरी नेताहरू नै हराउन लागेपछि गठबन्धनभित्र विश्वास टुट्दै गएको एकथरीको विश्लेषण छ ।

‘सहयोग गर्ने मनिस्थिति हुँदा पनि गत स्थानीय तहको निर्वाचनमा आफ्नो पार्टीलाई हराउन लागेकाहरूको याद झलझली आउँदो रहेछ, त्यसैले यो पटकको निर्वाचन भन्न सक्ने अवस्था छैन,’ एक युवा नेताले भने ।

घरदैलो कार्यक्रममा प्रत्यक्षतर्पmका उम्मेदवारका साथमा समानुपातिक उम्मेदवारहरू सृजना दनुवार र गीतादेवी रेग्मी समेत सहभागी थिए । कार्यक्रममा वडा, नगर, प्रदेश र क्षेत्रका अध्यक्ष र अन्य शुभेच्छुकहरूको पनि उल्लेखनीय सहभागिता रहेको एमालेले जनाएको छ ।