
रूपन्देही, १८ कात्तिक । नेकपा एमालेका सचिव गोकर्ण विष्टले गुल्मी क्षेत्र नं. २ मा आफ्नो प्रतिष्पर्धी कोही नभएको दाबी गरेका छन् ।
आज शुक्रबार बुटवलमा पत्रकारहरूसगँको भेटघाट कार्यक्रममा सचिव विष्टले आफ्नो प्रतिस्पर्धी भनिएका उम्मेदवारको मत ५६७ मात्रै रहेको दाबी समेत गरेका छन् । गठबन्धनको उम्मेदवार नेकपा एकीकृत समाजवादीकी नेतृ रामकुमारी झाँक्रीलाई लक्षित गर्दै उनले यस्तो दाबी गरेका हुन् ।
गुल्मी क्षेत्र नं. २ बाट प्रतिनिधि सभा सदस्य पदका उम्मेदवार समेत रहेका विष्टले चुनाव जितेपछि गाउँ नै नफर्किने पात्रलाई जनताले राम्ररी चिनेको बताउँदै आफ्नो जित सुनिश्चित भएको बताएका छन् ।
अर्को प्रसङ्गमा उनले चुनावपछि एकीकृत समाजवादीको राजनीतिक भविश्य सकिने बताउदै नेकपा एमालेको लोकप्रियता बढेकाले एमालेको बहुमत आउने ठोकुवा गरेका छन् । उनले देश विकास, समृद्धि, गरिबी, बेरोजगारी हटाउन अहिलेको चुनाव महत्वपूर्ण रहेको बताउँदै सही पार्टी र उम्मेदवारलाई छनोट गर्न मतदातालाई आग्रह गरेका छन् ।
नेता विष्टले एमालेको पालामा गरेका विकास निर्माणका कामहरूलाई गलत प्रचार प्रसार गरेर विपक्ष दलहरूले जस लिन खोजेकोमा खेद प्रकट गर्दै १० हजार बजेट कहीँ हालेको प्रमाण नभएकाले सांसद हुँदा ५ वर्षसम्म जिल्लामा नफर्किनेसँग आफूलाई तुलना गर्न नहुने बताए ।
सचिव विष्टले एमालेले घोषणापत्रमा समावेश गरेका सबै कार्यक्रमहरू पूर्ण कार्यान्वनमा आउने जानकारी दिदै आफूले अगाडि सारेका विकास आयोजना गुल्मीको विकासमा महत्वपूर्ण रहेको बताएका छन् ।















प्रतिक्रिया