२ कार्तिक २०८३, सोमबार

चुच्चे नक्साभित्र समेटिएको भूमिमै पुगेर ओलीले भने– हाम्रो भूमि फिर्ता ल्याएरै छोड्छौँ

210
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

नेकपा (एमाले) को सदरमुकाम खलङ्गामा आयोजित राष्ट्रव्यापी चुनावीसभालाई सम्बोधन गर्दै ।

दार्चुला, १८ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले भारतले अतिक्रमण गरेको नेपालको भूमि फिर्ता ल्याएरै छोडिने बताएका छन् ।

आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि एमालेको राष्ट्रव्यापी चुनावी अभियानको आज दार्चुलामा उद्घाटन गर्दै उनले नेपालको भूमि फिर्ता ल्याउनका लागि पनि देशमा एमालेको जित आवश्यक रहेको बताएका हुन् ।

चुच्चे नक्सामा समेटिएको भूमि दार्चुलामै पुगेर ओलीले भने, ‘हामीले नक्सामात्र होइन लिपुलेक, लिम्पियाधुरासहितको भूमि पनि फिर्ता ल्याउछौँ । राष्ट्रियताको रक्षाका लागि एमाले प्रतिबद्ध छ, हामीले हाम्रो भूमि एक इञ्च पनि छोड्दैनौँ ।’

भारतले विभिन्न बहानामा काली नदीको उद्गम स्थानसमेत नक्कली बनाएको भन्दै उनले सन् १९६६ मै स्वर्गीय प्रेमसिंह धामीले यो क्षेत्रको आवाज उठाएको स्मरण पनि गरे । पूर्वप्रधानमन्त्री ओलीले चुच्चे नक्सा जारी गरेकै कारण अहिले दार्चुलाको व्यासको कालापानी विश्वले चिन्ने भएको प्रसङ्ग समेत उल्लेख गरे ।

दार्चुलामा भारतले मिचेको नेपालको भूमि फिर्ता ल्याउने उदघोष् गर्दै ओलीले भने, म मेची किनारको मान्छेले लिम्पियाधुरा, लिपुलेक र कालापानी देखेँ, तर शेरबहादुर देउवा पाँच पटक प्रधानमन्त्री हुँदा देख्नुभएन । म मेची बगरको मान्छे महाकालीको पुल देख्छु । तर, शेरबहादुर देउवा देख्नुहुन्न । यही छ हामी दुईमा फरक ।’

ओली दार्चुलापछि बैतडीमा आयोजित चुनावी सभालाई सम्बोधन गर्न पुगेका थिए । उनले गठबन्धन सरकारको चुरीफुरी मंसिर ४ पछि सकिने घोषणा गरे । ओलीले भने, ‘मंसिर ४ पछि जनताले ‘गठबन्धन बाइबाइ, एमाले हाइहाइ’ गर्छन् ।

दार्चुलाबाट एमालेको ‘राष्ट्रिय चुनावी अभियान’ शुभारम्भ

नेकपा एमालेले सुदूरपश्चिमको दार्चुलाबाट आज निर्वाचन प्रचार अभियान देशव्यापीरुपमा शुभारम्भ गरेको छ । पार्टी अध्यक्ष केपी शर्मा ओलीले दार्चुला सदरमुकाम खलङ्गामा आज आयोजित चुनावीसभालाई सम्बोधन गर्दै राष्ट्रियता, कालापानीको भू–भागको संरक्षण र पछाडि परेको क्षेत्रको विकास गर्नका लागि चुनावी अभियान सुरु भएको घोषणा गरे ।

निर्वाचन राष्ट्रिय अभियानको सुरु गर्न बिहीबार अध्यक्ष ओली दार्चुला पुगेका थिए । उनले आज बैतडी र कञ्चनपुरमा आयोजना भएको चुनावीसभालाई पनि सम्बोधन गरेको पार्टीको केन्द्रीय प्रचार तथा प्रकाशन विभाग सचिव गगन विष्टले जानकारी दिए ।

निर्वाचन आयोगको आचारसंहिताअनुसार दोस्रो चरणको निर्वाचन प्रचारप्रसार बिहीबारदेखि सुरू भएको छ । निर्वाचन अभियानको पहिलो चरणदेखि नै उम्मेदवार जनताको घरदैलोमा पुगिरहेका छन् ।

आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचन नजिकिँदै गर्दा उम्मेदवारले आफ्नो पक्षमा मत प्राप्त गर्न जनताको मन जित्न विभिन्न प्रयासमा लागिरहेका छन् ।

निर्वाचन आयोगको आचारसंहिता, २०७९ को दफा १३ अनुसार मतदान हुने दिनभन्दा १७ दिन अघिदेखि मात्र जुलुस, आमसभा, कोणसभा गर्न पाइने भएकाले बिहीबारदेखि दोस्रो चरणको चुनावी प्रचार अभियान सुरु भएको हो ।

आगामी निर्वाचनमा एक करोड, ७९ लाख ८८ हजार पाँच सय ७० मतदाताले भाग लिँदैछन् । त्यसमध्ये महिला ८८ लाख ४७ हजार पाँच सय ७९ र पुरुष ९१ लाख ४० हजार आठ सय छ रहेका छन् भने अन्य एक सय ८५ रहेका छन् ।