
काठमाडौं, १८ कात्तिक । आम निर्वाचनको मिति नजिकिदै जाँदा देशभरका उद्योगी–व्यवसायी भने आन्दोलित बनेका छन् ।
बैंकहरूको जारी गरेको चर्को ब्याजदरविरुद्ध उनीहरूले प्रदर्शन सुरू गरेका हुन् । जस अनुसार आज काठमाडौको माइतीघर मण्डलामा शान्तिपूर्ण रूपमा विरोध प्रदर्शन गरिएको छ ।
नेपाल उद्योग वाणिज्य महासंघ, खाद्य व्यापार संघ, ललितपुर उद्योग वाणिज्य संघ, भक्तपुर उद्योग वाणिज्य संघ, नेपाल उद्योग वाणिज्य संघ काठमाडौं र ऊनी फेल्ट उत्पादक तथा निर्यात संघले शुक्रबार संयूक्त रूपमा माइतीघर मण्डलामा विरोध प्रदर्शन गरेका हुन् । बैंकहरूले प्रिमियममा मनपरी गर्दै चर्को ब्याज असुल गरेको उनीहरूको भनाइ छ ।
मुख्य पाँच वटा माग अगाडि सार्दै प्रदर्शन गरिएको नेपाल उद्योग वाणिज्य संघ काठमाडौंका अध्यक्ष तथा नेपाल उद्योग वाणिज्य महासंघका उपाध्यक्ष दिनेश श्रेष्ठले बताए । निक्षेपमा ब्याजदर बढाउँदैमा निक्षेप नबढेको भन्दै उद्योगका लागि एक अंकमा बढी नहुने र व्यापारमा १–२ प्रतिशत मात्र थप गरी लिन पाइने गरी लगानी योग्य पूँजीको शीघ्र व्यवस्थापन गर्नुपर्ने आफूहरूको माग रहेको उनले जानकारी दिएका छन् ।

त्यस्तै बैंकहरूको खर्च न्यून गरी स्प्रेड दर ३ भित्र रही जोखिमका आधारमा आधार दरमा बढीमा २ प्रतिशत मात्रै थप प्रिमियम लिन पाइने व्यवस्था गर्नुपर्ने आफूहरूको माग गरेको उनले बताए । बैंकहरूले सेवा शुल्क, कर्जा स्वीकृत शुल्क, एलसी–नेगोसिएसन शुल्कमा दोब्बर वृद्धिलाई अन्य गरी गत वर्षको भन्दा बढी लिन नपाइने व्यवस्था गर्नुपर्ने, हाल भएका कर्जाहरूलाई यस आर्थिक वर्षसम्म पुनःतालिकीरण गरी, ब्याज बुझाउने म्याद ३५ दिनसम्म लाई नियमित मानेर लिलाम गर्ने प्रक्रिया लाई हाल स्थगित गर्नुपर्ने आफूहरूको माग रहेको उनले बताए ।
कठिन समयमा पनि सरकार केन्द्रीय बैंक तथा वित्तीय संस्थाहरू मुकदर्शक भएकाले बाध्य भएर मौन प्रदर्शनमा उत्रनु परेको श्रेष्ठको भनाइ छ । त्यस्तै हालको बाह्य र आन्तरिक कारणको असहज समय उपयुक्त नभएकाले चालू पूँजी कर्जा निर्देशिका स्थगित गर्नुपर्ने उनीहरूको माग छ ।
विरोध प्रदर्शन गर्नेहरूले ‘मनपरी प्रिमियम बन्द गर्, बैंकिङ आतंक बन्द गर्, ब्याजदर चर्को भो गरिखान गाह्रो भो’ जस्ता प्लेकार्ड बोकेर शान्तिपूर्ण प्रदर्शन गरेका थिए ।















प्रतिक्रिया