
दोलखा, १७ कात्तिक । नेकपा माओवादी केन्द्रका नेता गंगा कार्की ‘विश्व’लाई प्रतिनिधिसभा सदस्यको उम्मेदवार बनाएपछि दोलखामा कांग्रेस छोड्ने क्रम बढेको छ ।
कांग्रेस प्रचण्डपथमा हिँडेको भन्दै जिल्लाका अधिकांश लोकतन्त्रवादी नेता तथा कार्यकर्ताहरू धमाधम नेकपा एमालेमा प्रवेश गर्न थालेका छन् ।
यही क्रममा आज नेपाली कांग्रेस गौरीशंकर गाउँपालिका कमिटीका सचिव अर्जुन ओली नेकपा एमालेमा प्रवेश गरेका छन् भने गौरीशंकर–७ साविक मार्बु गाविसको सिङ्गै समिति एमालेमा बिलय भएको छ ।
त्यस वडाका कांग्रेस सभापति फुरलाक्पा शेर्पाले बैठक गरेरै सम्पूर्ण कमिटी एमालेमा समाहित गराएका हुन् । यससँगै मार्बुमा नेपाली कांग्रेसका सबै कार्यकर्ता एमालेमा समाहित भएका छन् । गठबन्धनका उम्मेदवार मार्बु पुगेको दोस्रो दिन नै कांग्रेसको बैठक बसेर नेकपा एमालेमा समाहित हुने निर्णय गरेको हो ।
बुधबार सदरमुकाम चरिकोटमा बैठक बसेर वडाका सबै पदाधिकारी तथा सदस्यहरू एमालेमा समाहित हुने निर्णय लिएपछि उनीहरू आज एमालेमा प्रवेश गरेका हुन् । गौरीशंकरमा लामो समयदेखि नेपाली कांग्रेस निर्माणमा लागेका सचिव अर्जुन ओली र वडा नं ७ का सभापति शेर्पासहित सबै पदाधिकारी एमालेमा प्रवेश गरेसँगै सो क्षेत्रमा कांग्रेस लगभग शून्यमा पुगेको छ ।
कांग्रेस छाडेर एमालेमा समाहित भएका नेता कार्यकर्तालाई नेकपा एमालेका पोलिटब्यूरो सदस्य पार्वत गुरुङ, जिल्ला इञ्चार्ज केन्द्रीय सदस्य सरस्वती बस्नेत, केन्द्रीय सदस्य रचना खडका, प्रतिनिधिसभा सदस्यका उम्मेदवार बालकृष्ण शिबाकोटी, जिल्ला अध्यक्ष तथा प्रदेशसभा (क) का उम्मेदवार नरबहादुर श्रेष्ठसहितका नेताहरूले पार्टीमा स्वागत गरेका हुन् ।
एमालेमा समाहित भएका नेताहरूले अव गौरीशंकर मात्रै नभएर आफूहरूले जिल्लाभर कांग्रेसका सवै इमान्दार तथा प्रभावशाली नेता कार्यकर्ता एमालेमा भित्र्याएर समृद्ध दोलखा निर्माणको अभियानलाई सफल पार्ने अठोट व्यक्त गरेका छन् ।















प्रतिक्रिया