५ कार्तिक २०८३, बिहिबार

घोषणापत्रका ग्यारेण्टी र प्राथमिकताका विषय जनतामा पुर्‍याउन अध्यक्ष ओलीको निर्देशन

112
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १७ कात्तिक । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले बुधबार देशभरका एमालेका उम्मेदवारहरूलाई जुम बैठकमार्फत सम्बोधन गरेका छन् । सम्बोधनमा अध्यक्ष ओलीले पार्टीकोे निर्वाचन घोषणापत्र पाँचवर्षका लागि मार्गदर्शन भएकाले त्यसमा भएका देश निर्माण र जनतासँग सरोकार राख्ने मुख्य विषयहरूलाई जनतामा पुर्‍याउन निर्देशन दिए ।

अध्यक्ष ओलीले घोषणापत्रमार्फत पार्टीले अगाडि सारेका २० ग्यारेण्टी, ३० कार्यक्रम र प्राथमिकता तोकिएका २४७ विषयहरू जनतामा पुर्याउनुपर्ने बताए । उनले घोषणापत्रमा संघीय लोकतान्त्रिक प्रणालीको सही कार्यान्वयनका लागि महत्वपूर्ण मार्ग निर्देशन समेत रहेको जानकारी गराए ।

पार्टीभित्रैबाट अवरोध, असहयोग हुँदाहुँदै पनि आफ्नो नेतृत्वको सरकारले ४१ महिनामा धेरै काम गरेको र घोषणापत्रमा ती काम ८२ माइलस्टोनका रूपमा प्रस्तुत गरिएको बताउँदै अध्यक्ष ओलीले ती कामका बारेमा जनतालाई जानकारी गराएर प्रतिक्रियावादी र प्रतिगामी तत्वहरूले एमाले विरुद्ध फैलाइरहेका भ्रमलाई दृढतापूर्वक खण्डन गर्नुपर्नेमा जोड दिए ।

पार्टीभित्रैका प्रतिगामी, भ्रष्ट, स्वार्थी तत्वहरू सरकार र पार्टी कब्जा गर्ने षडयन्त्रमा लागेका र उनीहरू २०७४ सालको जनादेशविपरीत जान थालेपछि आफूले देशको हितका लागि जनादेशमा जाने निर्णय लिएको स्पष्ट गर्दै अध्यक्ष ओलीले संसद विघटन गरी जनतामा जाने त्यो कदम विल्कुल ठीक रहेको बताए । ओलीले राजनीतिक विषयमा अदालत गुहार्ने र संसदबाट हुने प्रधानमन्त्री नियुक्तिका लागि परमादेश जारी गर्नेरगराउने कुरा प्रतिगमन भएकाले यस कुरालाई दृढतापूर्वक जनतामा लैजान आग्रह गरे ।

उनले सार्वभौमसत्ता सम्पन्न जनतामा जाने कुरालाई प्रतिगमन भयो भन्दै प्रतिगामी र भ्रष्टहरूले नेपाली गोयबल्सको अवतारमा एमालेविरूद्ध रटान लगाइरहेको बताए । अध्यक्ष ओलीले भने– ‘खासमा दुईतिहाई बहुमत पुर्याएर सरकार सञ्चालन गरिरहेको प्रधानमन्त्री र पार्टी अध्यक्षलाई हटाउने र जनताले १६५ सिटमध्ये २३ सिटमा खुम्चाएको नेपाली काँग्रेसलाई सरकारको नेतृत्व गराई विदेशीका लागि कम्फर्टेवल सरकार बनाउने स्वार्थी तत्वहरू नै प्रतिगमनकारी हुन् ।’

अहिले त्यस्ता कतिपयले हामीले अहिले अङ्गीकार गरिरहेको राजनीतिक प्रणालीलाई दोष देखाएर आफ्ना कमजोरीहरू ढाकछोप गर्ने दुष्प्रयास गरिरहेको उनले बताए । अध्यक्ष ओलीले अदालतबाट परमादेश जारी गर्ने/गराउने प्रवृत्ति रहेसम्म राजनीतिक प्रणाली बदल्ने कुराको अर्थ नरहने स्पष्ट पारे । उनले एमाले बाहेक अरूले देश बनाउन सक्दैनन् भन्ने कुरा जनतामा दृढताका साथ लैजान र देश बनाउने पक्षमा मतदानका लागि आग्रह गर्न पार्टीका उम्मेदवारहरूलाई निर्देशन दिए ।

पार्टीको निर्वाचन घोषणापत्र राष्ट्र निर्माणको नीति, कार्यक्रम र सङ्कल्प भएको स्पष्ट गर्दै अध्यक्ष ओलीले भने– ‘तपाई एमालेका उम्मेदवारहरूले राष्ट्र निर्माणको काममा सँगै हिड्न सक्नेलाई पार्टीमा समाहित गरी सँगै हिडाउनुस् । नसक्नेलाई एमालेको पक्षमा मतदान गरी देश बनाउने अभियानमा सहयोग गर्नुस् भन्नुपर्छ ।’

 जुम बैठकमा अध्यक्ष ओलीका साथमा महासचिव शंकर पोखरेल र उपमहासचिव विष्णु रिमाल उपस्थित थिए भने देशका विभिन्न जिल्ला र निर्वाचन क्षेत्रबाट पार्टीका प्रतिनिधि सभा र प्रदेश सभा सदस्यका उम्मेदवारहरू सहभागी थिए ।