२ कार्तिक २०८३, सोमबार

गठबन्धन सरकारले विकास ‘होलीडे’ मनायो, अब जरैदेखि उखेलेर फाल्नुपर्छ : महेश बस्नेत

42
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, १३ कात्तिक । नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् भक्तपुर निर्वाचन क्षेत्र नं. २ का उम्मेदवार महेश बस्नेतले वर्तमान गठबन्धन सरकारले मुलुक र विकासको ‘होलीडे’ मनाएको भन्दै आक्रोश जनाएका छन् ।

नेकपा एमाले सूर्यविनायक नगरकमिटी वडा नं. ५ ले आज आइतबार आयोजना गरेको बृहत् कार्यकर्ता भेला तथा उम्मेदवार परिचयात्मक कार्यक्रममा नेता बस्नेतले दीगो विकासका लागि केपी ओली नेतृत्वको सरकारले मुलुकलाई विकासन्मुख राष्ट्रको रूपमा स्थापित गराएको स्मरण गर्दै गठबन्धन सरकारले विकासको काम छुँदै नछोएको बताएका हुन् ।

पूर्वमन्त्री समेत रहेका बस्नेतले ओली नेतृत्वको सरकारले मुलुकलाई छिट्टै विकासित बनाउने अभियान चलाए पनि वर्तमान गठबन्धन सरकारले विकासको विदा मनाइरहेको दाबी गरे । जनचाहनालाई लत्याउँदै विकासको बजेट कटौती गरी विकासलाई रोक्ने गठबन्धन सरकारलाई आगामी मंसिर ४ गते हुने निर्वाचनमा जनताले जनमत नदिएर सधैंका लागि विदा गर्नुपर्ने उनको भनाइ छ ।

मंसिर ४ पछि एमालेको नेतृत्वमा सरकार बन्ने दाबी गर्दै उनले उक्त सरकारले पुनः विकास र समृद्धिको लहर पैदा गर्ने बताएका छन् । ‘केपी ओली नेतृत्वको सरकारले साना तथा ठूलो र राष्ट्रिय गौरवका आयोजनाहरू व्यापक मात्रामा चाएको थियो । विभिन्न प्रकारका भौतिक पूर्वाधार निर्माणका कार्यक्रमहरूले जताततै लहर नै छाएको थियो,’ उनले भने, ‘तर गठबन्धन सरकार आएसँगै जनताले विकासको कुनै पनि योजना देख्न पाइएको छैन । अघिल्लो कात्तिक तथा मंसिरमा जताततै विकासका कार्यहरू भएका थिए । उद्घाटन र शिलान्यासमय मुलुक बनेको थियो । तर यो सरकार आएसँगै चालू आयोजनाहरू समेत रोकिएका छन् ।’ गठबन्धन सरकार बनेदेखि जनताले विकास देख्न नपाएको उनको भनाइ छ ।