२ कार्तिक २०८३, सोमबार

देशद्रोही गठबन्धनलाई रोक्ने गरी मतदान गर्न मतदातालाई अध्यक्ष ओलीको अपिल

140
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, ११ कात्तिक । नेकपा (एमाले) का अध्यक्ष केपी शर्मा ओलीले नेकपा (एमाले) राष्ट्रिय राजनीतिको राष्ट्रवादी धार भएको बताएका छन् ।

झापाको भद्रपुरमा आज नेकपा (एमाले) र राप्रपाको संयुक्त भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अहिले देश दुई ध्रुवमा बाँडिएको र एमाले राष्ट्रिय हित र स्वाभिमानको पक्षमा रहेको बताएका हुन् । सत्ता स्वार्थमा रहेको अर्को ध्रुवको नीति आत्मसमर्पणवादी र घुँडा टेकुवा भएको अध्यक्ष ओलीको भनाइ छ ।

देशभक्तहरूको पार्टी एमाले विकासको पक्षधर भएको र यो पार्टीले देशमा विकास अभियन्ताका रूपमा अगुवाई गर्ने बताउँदै यस ध्रुवमा देशभक्तहरू एकत्रित हुँदै जान थालेको अध्यक्ष ओलीले बताए । आफूले समर्थन गरेको उम्मेदवारलाई जिताउनु पार्टीको इज्जत र दायित्व भएको बताउँदै उनले झापा–३ मा राप्रपाका अध्यक्ष राजेन्द्र लिङ्देनलाई जिताउनुपर्नेमा जोड दिए ।

अध्यक्ष ओलीले देशद्रोहीलाई रोक्न पनि हलोमा भोट हाल्नुपर्छ भन्दै एमालेले समर्थन गरेका सबै उम्मेदवार निर्वाचनमा विजयी हुने विश्वास व्यक्त गरे । ‘अदालतको परमादेशबाट गठन भएको गठबन्धन सरकार जनताप्रति जवाफदेही छैन । सरकार भ्रष्टाचार र कमिशनखोर, दलालहरूको चङ्गुलमा छ,’ अध्यक्ष ओलीले भने, ‘गठबन्धनका नेता नै विदेशीहरूका लागि कम्फर्टेवल सरकार हौँ भन्दै भाषण गर्दै हिँडेकाले जनताले हदैसम्म दुःख पाएका छन् ।’

अध्यक्ष ओलीले गठबन्धनका कारण देश र राष्ट्रियता नै रहने कि नरहने भन्ने प्रश्न उठेको समेत बताएका छन् । गठबन्धनले एमसीसी, एसपीपी जस्ता राष्ट्रघाती सम्झौता गरेको र सत्ता टिकाउन जे पनि गर्ने बताउँदै अध्यक्ष ओलीले नेकपा एमालेको देश बनाउने अभियानमा सहयात्रा सहकार्य गर्न सबैमा आग्रह गरे ।

अध्यक्ष ओलीले भने, ‘नेकपा (एमाले) सहित राप्रपा र जसपाको चुनावी तालमेल जसरी पनि सरकारमा जानुपर्छ भन्ने अर्थमा होइन । यो देशको रक्षा गर्न नेपाली जनतालाई स्वाभिमानसहित बाँच्ने अवस्था सिर्जना गर्न, नेपाली जनताको आर्थिक जीवनस्तर बदल्ने समृद्ध नेपाल सुखी नेपालीको अभियानमा एक भएर अघि बढ्नका लागि भएको हो ।’ एमाले लगायत तीनै दलका कार्यकर्ताले इमान्दारीपूर्वक आफ्नो पक्षका उम्मेदवारलाई मतदान गरी विजयी गराउन समेत ओलीले निर्देशन दिएका छन् ।

अध्यक्ष ओलीले अहिलेको सरकार आएपछि न विकास छ, न ढुकुटीमा पैसा छ । यो सरकार ‘घरको धूरीमा गिद्ध बस्दा अलछिन लाग्छ’ भन्ने नेपाली उखान जस्तै देशका लागि ‘अलछिना’ भएको बताए ।