
काठमाडौं, ११ कात्तिक । छुट्टाछुट्टै स्थानमा भएको सवारी दुर्घटनामा परी पाँच जनाको मृत्यु भएको छ ।
अर्घाखाँची, कैलाली र रूपन्देहीमा भएको दुर्घटनामा पाँच जनाले ज्यान गुमाएको प्रहरीले जनाएको छ ।
प्रहरीका अनुसार अर्घाखाँचीको सन्धिखर्क नगरपालिका–१० एयरपोर्टस्थित सडकमा प्रदेश २–०३८ प ५०३२ नम्बरको मोटरसाइकल अनियन्त्रित भई बिहीबार राति दुर्घटना हुँदा मोटरसाइकलमा सवार सन्धिखर्क नगरपालिका–१ मिडियाचोक बस्ने २६ वर्षीय रोसन सुनाम र सोही नगरपालिका हललाइन बस्ने २२ वर्षीय कृतिम रायमाझीको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै कैलालीको गौरीगंगा नगरपालिका–३ कुचैनीस्थित सडकमा बा.१२ च २११४ नम्बरको कारले सु.प.प्र.०१–००८ प ५७५६ नम्बरको मोटरसाइकललाई बिहीबार दिउँसो ठक्कर दिँदा मोटरसाइकल चालक गोदावरी नगरपालिका–२ तेघरी बस्ने ३३ वर्षीय शेर बहादुर पुनमगरको मृत्यु भएको छ । दुर्घटनामा गम्भीर घाइते भएका उनको सेती प्रादेशिक अस्पताल धनगढीमा उपचारका क्रममा मृत्यु भएको हो । कार चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
कैलालीकै कैलारी गाउँपालिका–५ स्थित सडकमा से.६ प ५५८६ नम्बरको मोटरसाइकल आफै अनियन्त्रित भई गएराति दुर्घटना हुँदा मोटरसाइकल चालक सोही गाउँपालिका–५ पवेरा बस्ने २२ वर्षीय राजेन्द्र चौधरीको घटनास्थलमै मृत्यु भएको छ ।
यस्तै रूपन्देहीको बुटवल उपमहानगरपालिका–१३ जितगढीस्थित सडकमा लु.८१ प २५६६ नम्बरको मोटरसाइकल र लु.२८ प ४३८० नम्बरको मोटरसाइकल एकआपसमा ठक्कर खाई बिहीबार राति दुर्घटना हुँदा लु.८१ प २५६६ नम्बरको मोटरसाइकल चालक बुटवल उपमहानगरपालिका–११ बस्ने २२ वर्षीय मुस्कान नेपालीको मृत्यु भएको छ ।
दुर्घटनामा गम्भीर घाइते भएका उनको एड्मन सीटी अस्पताल बुटवलमा उपचारको क्रममा मृत्यु भएको हो । साथै दुर्घटनामा घाइते भएका लु.२८प ४३८० नम्बरको मोटरसाइकलमा सवार २ जनाको सोही असपतालमा उपचार भइरहेको छ ।
दुर्घटनाका सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।















प्रतिक्रिया