
वाशिङ्टन डिसी, ९ कात्तिक । अमेरिकामा आप्रवासनको जीवन बिताउन निकै चुनौतीपूर्ण छ ।
त्यसमाथि वैधानिक तबरले ग्रीन कार्ड हुँदै नागरिक बन्न अनेक प्रक्रिया पूरा गर्नुपर्छ । यसरी अमेरिकाको नागरिक भइसकेपछि पनि यहाँको परिवेशलाई पच्छयाउँदै राजनीतिमा सक्रिय हुन र उमेदवार बनेर निर्वाचनमा निर्वाचित हुन पहिलो पिँढीका आप्रवासीका लागि सङ्घर्षका अनेक कथा जोडिएका हुन्छन् ।
कडा परिश्रमको उपमा पाएका नेपाली अमेरिकीको हकमा भने पहिलो पिँढीका दर्जनभन्दा बढी अमेरिकाको विभिन्न एकाइको निर्वाचनमा होमिएका छन् । यस पटकको निर्वाचनको मिति आगामी नोभेम्बर ८ आउन अब केबल दुई साताभन्दा कम मात्र बाँकी रहेको छ । उक्त निर्वाचनमा नेपाली मूलका दुई जना प्रतिस्पर्धामा छन् ।
प्रतिस्पर्धा गर्नेमा मेरिल्याण्ड राज्यको डिष्ट्रिक ८ बाट मेरिल्याण्ड जनरल एसेम्ब्लीका लागि विधायक पदमा पुनः निर्वाचित हुन डा. ह्यारी भण्डारी र न्यूयोर्क राज्यको डिष्ट्रिक १०३ बाट न्यूयोर्क स्टेट एसेम्वलीका लागि सहना श्रेष्ठ छन् । भण्डारी र श्रेष्ठले गत जुलाईमा भएको आन्तरिक पार्टी प्रतिस्पर्धा अर्थात् प्राइमरी निर्वाचनमा विजयी भएर डेमोक्र्याट पार्टीको तर्फबाट आधिकारिक उमेदवार बनेका हुन् ।
सहनाले २३ वर्षदेखि सोही पार्टीका बहालवाला डेलिगेटलाई हराएर प्राइमेरी निर्वाचनमा जित हासिल गरेर एउटा अलग्गै इतिहास रच्न सफल भएकी छिन् ।
सन् २००१ मा अध्ययनका लागि अमेरिका आएकी सहनाको राजनीतिक यात्रा रोचक छ । उनले सन् २०१९ मा मात्र अमेरिकाको नागरिकता लिएकी थिइन् । सन् २०२१ मा उमेदवारी दिएर २०२२ को जुनमा प्राइमेरी निर्वाचनमार्फत जित हासिल गरेसँगै उनी डेमोक्र्याट पार्टीको तर्फबाट आगामी नोभेम्बर ८ तारिखको लागि निर्वाचनमा होमिएकी छिन् ।
यस्तै भण्डारी अमेरिकाको मूलधारको राजनीतिमा निर्वाचित हुने पहिलो नेपाली अमेरिकी हुन् । उनले सन् २०१८ मा भएको निर्वाचनमा डेमोक्र्याट पार्टीको तर्फबाट निर्वाचित भएर एउटा अलग्गै इतिहास बनाएका छन् ।
भण्डारी मेरिल्याण्डको जनरल एसेम्ब्लीमा आफ्नो चार वर्षे कार्यकालको अनुभवसहित निर्वाचनमा बहालवाला सांसदको हैसियतले चुनावी मैदानमा छन् । सन् २०२० को जनगणनापश्चात गरिएको निर्वाचन क्षेत्र हेरफेरको कारणले चुनौती थपिएको उनको भनाइ छ ।
उनको निर्वाचन क्षेत्र पर्पल डिष्ट्रिक अर्थात डेमोक्र्याट र रिपब्लिकन पार्टी दुबैले जित हासिल गर्न सक्ने सचेत मतदाताको बाहुल्यता भएको क्षेत्र हो । यसले गर्दा मतदाताले उमेद्वारको कार्ययोजना र कार्यशैलीलाई हेरेर मतदान गर्नेछन् ।
भण्डारी आफ्नो निर्वाचन क्षेत्रमा आफ्नो कार्ययोजनासहितका विवरण र विगतमा आफूले गरेको कामको फेहरिस्त लिएर मतदाताको घरदैलामा पुगेका छन् । उनले सन् २०१८ मा व्यक्त गरेको प्रतिवद्धताअनुसार स्थानीय विद्यालयमा विद्यार्थीको चाप बढी भएको नागरिकको गुनासोलाई सम्बोधन गर्दै आफ्नो क्षेत्रमा थप तीन विद्यालय स्थापना गरेका थिए । यसले उनका लागि सकारात्मक वातावरण निर्माण भएको छ ।
उनको क्षेत्रमा ३ जनाले प्रतिनिधित्व गर्छन् । भण्डारीले भने, ‘मैले मेरो क्षेत्रका मतदातासँग गरेको प्रतिवद्धताअनुसार शिक्षा क्षेत्रमा पर्याप्त बजेट ल्याउन सफल भएको छु । करिब चार करोड ७० लाख डलर रकम बराबरका विद्यालयहरू मेरो क्षेत्रमा निर्माणाधीन रहेका छन् ।’
मेरिल्याण्ड राज्यको जनरल एसेम्ब्लीमा हेल्थ एण्ड सरकार सञ्चालन कमिटीमा बसेर काम गरेका भण्डारी आफ्नो चार वर्षे कार्यकालको अनुभवले धेरै कुरा सिकाएको बताउँछन् । उनी भन्छन्, ‘एउटा सार्वजनिक पदधारण गरेको नाताले र निर्वाचित जनप्रतिनिधि भएको नाताले हेल्थ केयरका कतिपय विषयमा हामी मिलेर धेरै काम गर्यौं । यसले मेरिल्याण्ड राज्यलाई महामारी व्यवस्थापनमा अब्बल सावित गराउन सफल पनि भयो । महामारीको बेलामा गभर्नरको कार्यालय र हाउस मिलेर नागरिकका समस्या सम्बोधन गर्न र महामारीको समयमा धेरै काम गर्यौं ।’
उक्त समितिमा वसेर लङ्ग टर्म केयर, जेष्ठ नागरिकको लागि स्वास्थ्य सेवाको पहुँच जस्ता धेरै विषय समेटिएका १४ वटा विधयेक पास गराउन सकेकामा आफ्नो कार्यकाल सफल भएको भण्डारी बताउँछन् ।
नेपाली समुदायका लागि पनि धेरै काम गर्न सकेको बताउँदै उनी भन्छन्, ‘कोरोनाको महामारीको बेलामा कतिपय स्थानमा मृत्युवरण गरेका नेपालीको अन्तिम संस्कार गर्नको लागि म उपस्थित भएको थिएँं । दिवंगत नेपालीको शव व्यवस्थापनमा समन्वयकारी भूमिका निर्वाह गर्नु भएका भण्डारीले कोरोना महामारीको बीचमा एक हजार पाँच सय नेपालीको बेरोजगार फर्म भर्नसमेत कार्यालयमार्फत काम गर्नु भएको थियो ।’
भण्डारी अझै पनि नेपाली समुदाय अमेरिकामा देखिने र सुनिने समुदायको रूपमा नआएको भन्दै राजनीतिक सामाजिक एकीकरणको पक्षमा आफूले समन्वय गर्न सकेको बताउँछन् ।
भण्डारीले नेपाली अमेरिकीको सहभागितामा सञ्चालित दुई सामुदायिक भवनको पुर्नसंरचना गर्न र सर्भिसेज रुमहरूको निर्माणका लागि भनेर पाँच लाख ५० हजार डलर बराबरको रकम लेजिष्लेटिभ वण्डमार्फत राज्य सरकारको कोषबाट रकम उपलब्ध गराएका छन् । सन् २००८ मा तत्कालीन राष्ट्रपतिका उमेदवार बाराक ओबामाको चुनावी अभियानमा स्वयंसेवक बनेका भण्डारीले यो १४ वर्षको बीचमा धेरै कुरामा पहुँच राख्न सफल भएका छन् ।
मेरिल्याण्ड राज्यको शिक्षा क्षेत्रमा कार्यरत रहेका भण्डारी अपराह्न ३ बजेसम्म कक्षा कोठामा नै विद्यार्थीलाई अध्यापन गराउने गर्छन् । उनी भन्छन्, ‘मैले आफ्नो पेशालाई पनि निरन्तरता दिइरहेको छु र चुनावी अभियान पनि टीममार्फत व्यवस्थित तरिकाले सञ्चालन गरिरहेको छु ।’ भण्डारी दोस्रो कार्यकालको लागि उमेदवार बनेका हुन् ।
उनले यसपटक जित हासिल गरेको खण्डमा दोस्रो कार्यकाल अमेरिकाको मूलधारको राजनीतिमा विजय हुने उनी एक मात्र व्यक्ति हुनेछन् ।
यस्तै सहना श्रेष्ठले न्यूयोर्कको १०३ नम्बरको डिष्ट्रिकमा डेमोक्र्याट पार्टीको विगत दुई दशकदेखि प्रतिनिधित्व गर्दै आएकी बहालवाला सांसदलाई प्राइमेरी निर्वाचनमा पराजय गरेकी हुन् । उनको पहिलोपटकको राजनीतिक यात्राले नै नयाँ उचाई हासिल गर्न सकेको छ ।
पर्यावरणको क्षेत्रमा काम गर्नु हुने श्रेष्ठले आफ्नो चुनावी अभियानमा कुनै पनि कर्पोरेट कम्पनीबाट चन्दा नलिने उदघोष गरेकी छिन् । उनले ऊर्जाको दर कम र शतप्रतिशत नवीकरणीय ऊर्जा भन्ने नाराका साथ चुनावी अभियानमा होमिएको बताएकी छिन् । यी नारा तय गर्नुमा आफ्नो स्थानीय नागरिकको समस्या सम्बोधन गरेको उनी बताउँछिन् । ‘यो न्यूयोर्कको सेन्ट्रल हडसन क्षेत्रका नागरिकले चर्को दरको विद्युत् उपयोग गर्नु परेको छ । यसलाई मैले मुख्य मुद्दा बनाएको छु । मेरो सोच भनेको विद्युत् सेवाप्रदायकहरू निजी क्षेत्रबाट सरकारी क्षेत्रमा लानुपर्छ भन्ने हो । यसको लागि कतिपय विलहरू बनाउनु पर्ने हुन्छ, यसमा सामूहिक सहकार्यबाट मात्र सम्भव रहन्छ ।’
उनको चुनावी अभियानमा युनिभर्सल हेल्थ केयर जसमा मानसिक स्वास्थ्य, दीर्घकालीन हेरविचार र प्रजनन हेरचाहलगायतका विषय समावेश गरिएको छ । उनलाई अमेरिकाको राजनीतिमा प्रगतिशील एजेण्डाका साथ उदाएकी कंग्रेस सदस्य अलेक्ज्याड्रिय कोर्टेजले सहयोग गरेका छन् । उनीलगायत न्यूयोर्क राज्यका चार एसेम्ब्ली सदस्य र दुई स्टेट सिनेटरले पनि श्रेष्ठलाई समर्थन गरेकाले उनको विजयलाई बल पुर्याएको छ ।
सन् २००१ मा कम्युटर ग्राफिक्स अध्ययन गर्न अमेरिका आएकी सहनाले २०१९ मा अमेरिकाको नागरिकता लिएकी थिइन् । सहना भन्छिन्, ‘मैले उमेदवार हुने सोच बनाएको एक वर्ष भयो । यहाँको समुदायले गरेको सहयोगको कारण मैले प्राइमरी निर्वाचनमा सफलता हासिल गर्न सकेको हुँ ।’ उनी आफ्ना पतिसहित न्यूयोर्कको हडसन भ्यालीमा बस्दै आएकी छिन् ।
उनी उल्सटर काउन्टीको मिड हडसन भ्याली च्याप्टरको डेमोक्रयाटिक सोसलिष्टस अफ अमेरिको सहअध्यक्ष समेत रहेकी छिन् । श्रेष्ठ भन्छिन्, ‘यसले नै मलाई राजनीतिक यात्रामा योगदान दिएको हो ।’
यसपटकको निर्वाचनमा दुई जना मात्र निर्वाचनको मैदानमा भएपनि विगत वर्षहरूमा अनेकन राज्यहरूमा नेपालीहरूले उमेदवारी दिँदै आएका छन् । तर अहिलेसम्म सङ्घीय सरकारमा प्रतिनिधित्व गर्ने गरी कसैले विजय हासिल गर्न भने सकेका छैनन् । यसरी अमेरिकाको राजनीतिमा होमिनेहरू दर्शन रौनियारले सन् २०१२ मा वाशिङ्गटन स्टेटको कंग्रेसनल डिष्ट्रिक १ वाट निर्वाचनमा प्रतिस्पर्धा गर्नु भएको थियो तर उनले प्राईमेरी निर्वाचन मा नै पराजय भोग्नु परेको थियो ।
यसैगरी टेक्सास राज्यको हाउस अफ रिप्रिजेन्टेटिभमा डिष्ट्रिक ९२ बाट उमेदवार बनेका दिनेश शर्माले पनि यस पटकको लागि प्राईमेरी निर्वाचनमा पराजयको सामना गर्नु पर्यो । नेपाली अमेरिकन मतदाताहरूको राम्रो मत भएको स्थानमा पनि शर्माले जित हासिल गर्न सकेनन् ।
राज्य तहको निर्वाचनबाहेक स्थानीय तहको निर्वाचनमा भने नेपालीले जित हासिल गरेका छन् । भर्जिनियाको हरडनको काउन्सिल मेनको रूपमा प्रदीप ढकाल कार्यरत छन् । यसैगरी मेरिल्याण्ड राज्यको इण्डियाना हेड सिटीको भाइस मेयरको रूपमा किरण सिटौलाले काम गरिरहेका छन् । यस्तै कनेक्टिकट राज्यको वेडफर्डमा काउन्सिल मेनको रूपमा राम श्रेष्ठले काम गरिरहेका छन् ।
यसैगरी टेक्सासमा रहेको युलेस सिटीको काउन्सिल सदस्यको रूपमा टीका पौडेलले गत वर्ष भएको निर्वाचनमा विजयी हासिल गरेका थिए । यस्तै ओहायो राज्यमा रहेको भुवन प्याकुरेल काउन्सिल सदस्यको रूपमा काम गरेका छन् ।
प्याकुरेल भुटानी अमेरिकन हुन् । प्याकुरेल आप्रवासन पुनस्थापना अन्र्तगत अमेरिका आइपुगे । उनले ओहायो राज्यमा सिटी काउन्सिलमा विजय हासिल गरेका छन् । प्याकुरेलले नेपाली भाषीको सेवामा आफूले काम गरेको बताउँछन् ।
टेक्सासमा नै मोहन ज्ञवालीले सिटी काउन्सिल सदस्यमा उमेदवारी दिएका थिए तर, उनले पनि पराजयको सामना गर्नु पर्यो । अमेरिकामा रहेका नेपालीहरू प्रत्यक्ष र अप्रत्यक्ष रूपमा राजनीतिमा होमिएका छन् । यसले गर्दा यहाँको मूलधारको राजनीतिमा नेपालीहरूको सहभागिता वृद्धि भएको छ ।
सन् २०१८ को हयारीको निर्वाचनमा विजयी गराउन नेपालीहरूको फर्सिको मुन्टाको डिप्लोमेशीले काम गरेको थियो । यस अन्र्तगत नेपाली अमेरिकनहरूले आफ्नो घरको करेसावारीमा फलेको हरियो सागसव्जि आफना छिमेकीहरूलाई दिएर भावनात्मक रूपमा नजिकका साथी बनेका थिए । कतिपय अवस्थामा त्यस्ता छिमेकीहरूले समेत मतदानमा भाग लिएर मत दिएका थिए । यसैले यहाँका स्वतन्त्र अध्येताहरू फर्सिको मुन्टा डिप्लोमेसीको रणनीति चुनावी अभियानमा फलदायी भएको बताउँछन् ।
टेक्सासमा बसेर वित्तीय साक्षरता अभियानमार्फत समुदायलाई सहयोग गर्दै आएका गगन केसी अमेरिकाको राजनीतिमा बढीभन्दा बढी सहभागिताको खाँचो रहेको बताउँछन् । कतिपय विषयमा कानून, विधिविधान र अधिकारको बारेमा जानकारी लिन पनि राजनीतिक सहभागिताको खाँचो रहेको उनी बताउँछन् ।
नेप्लीज अमेरिकन एलायन्स फर एक्सनका उपाध्यक्ष अर्जुन हमाल अझै नेपाली अमेरिकीले यो मूलधारको राजनीतिमा सक्रिय सहभागिता जनाउन नसकेको बताउँछन् । ‘हामीले एक जना डेलिगेट निर्वाचित गर्दा त सरकारी सेवा, सुविधामा यस्तो पहुँच स्थापित गराउन सफल भएका छौंँ भने अझ धेरै निर्वाचित प्रतिनिधि भएको खण्डमा धेरै काम गराउन सकिन्छ,’ उनले भने ।
आगामी नोभेम्बर ८ मा हुने निर्वाचनमा ३४ सिनेटर, ४३५ कंग्रेस मेन र ३६ वटा राज्यको गभर्नरको लागि निर्वाचन हुने भएको छ । यसैगरी कतिपय राजयका जनरल एसेम्ब्ली, काउन्टी एक्जुकेटिभलगायत स्थानीय निकायमा सरकार सञ्चालन गर्ने पदाधिकारीको निर्वाचन हुनेछ ।
अमेरिकाको राज्य सञ्चालनमा स्थानीय, राज्य र सङ्घीय गरेर तीन तहको सरकार सञ्चालनमा रहेको छ । यी सबै तहका निर्वाचन नोभेम्बर ८ तारिखको लागि तोकिएको छ । तर, चुनाव हुनुभन्दा अगाडि ‘अर्लिभोटिङ्ग’मार्फत नागरिकले मतदान दिन पाउँछन् भने हुलाकी चिठी पत्रमार्फत पनि नागरिकले मतदानमा सहभागिता जनाउन सक्छन् । अमेरिकामा राष्ट्रपतिको चुनाव भने आगामी दुई वर्ष पछि अर्थात सन् २०२४ मा हुनेछ ।
सिनेटमा ४८ डेमोक्र्याट, ४८ रिपब्लिकन र दुई स्वतन्त्र सिनटेरहरू रहेका छन् । कुनै विधयेकमा बराबर मत परेको खण्डमा उपराष्ट्रपतिले मतदान गरेर बहुमत कायम हुने व्यवस्था छ । यसैले डेमोक्र्याट पार्टी र रिपब्लिकन पार्टी दुवै सिनेटमा वहुमत सदस्यको जित हासिल गर्न चाहन्छन् । रासस















प्रतिक्रिया