
काठमाडौं, ८ कात्तिक । सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले मेशिनबाट क्यास डिपोजिट गर्न सकिने सेवा सुरू गरेको छ ।
बैंकले आफ्ना सेवाहरु डिजिटलाइज गर्ने क्रममा लक्ष्मीपूजाको अवसर पारेर हिजो सोमबारदेखि सेवा सुरू गरेको जनाएको छ । यो सेवा सञ्चालनसँगै बैंकका ग्राहकले मानव सहायताविनै सोझै आफ्नो खातामा रकम जम्मा गनै सक्ने छन् ।
बैंकमा रहेको आफ्नो वा अरुको सक्रिय बैंक खातामा केबल खाता नम्बरको आधारमा नगद रकम जम्मा गर्न सकिने बैंकले जनाएको छ । यो सेवाअन्तर्गत क्यास डिपोजिट मेशिनबाट १,००० रुपैयाँ र ५०० रुपैयाँ दरका नोटहरू मात्र जम्मा गर्न मिल्ने व्यवस्था गरिएको छ ।
अब ग्राहकहरूले शाखामा पुगेर लाइनमा बसी फाराम भरी नगद जम्मा गर्ने झन्झटबाट मुक्त हुने बैंकले जनाएको छ ।
सिटिजन्स बैंक इन्टरनेसनल लिमिटेडले देशैभरी फैलिएका आफ्ना १८० वटा शाखा, १३३ वटा एटीएम र ९६ वटा शाखारहित बैंकिङ्ग इकाइहरूबाट करिब १४ लाख ७८ हजार ग्राहकलाई आधुनिक बैंकिङ्ग सेवाहरु प्रदान गर्दै आइरहेको विज्ञप्तिमार्फत जानकारी दिएको छ ।















प्रतिक्रिया