
उदयपुर, ७ कात्तिक । नेकपा माओवादी केन्द्रका प्रदेश कमिटी सल्लाहकार परिषद् सदस्य बखतराम किराँती र जिल्लाका चर्चित नेता होम किराँती नेकपा एमालेमा प्रवेश गरेका छन् ।
शनिबार मात्र आफ्नो फेसबुक पेजबाट पार्टी परित्याग गरेको सन्देश प्रवाह गरेका होम किराँतीसहितका नेताहरू आइतबार एमालेमा प्रवेश गरेका हुन् । बखतराम विगत २५ वर्ष र होम १७ वर्षदेखि पार्टीमा आवद्द भई जिम्वेवारीपूक काम गर्दै आएका नेता हुन् ।
माओवादी पार्टीभित्र मौलाउँदै गएको चरम गुटबन्दी, असमानता, विभेद्पूर्ण व्यवहार, नातावाद कृपावादबाट वाक्क भएर पार्टी परित्याग गरी एमालेमा प्रवेश गर्नु परेको उनीहरूले बताएका छन् । कार्यक्रममा माओवादी केन्द्र, नेपाली कांग्रेस र जनता समाजवादी पार्टी गरी २३० जना नेता तथा कार्यकर्ता नेकपा एमालेमा प्रवेश गरेका हुन् ।
एमालेका स्थानीय युवा नेता राजकुमार राईका अनुसार किराँती पार्टीका विभिन्न जनवर्गीय संगठनका १५० जना नेता, ५६ जना संगठित सदस्य गरी २०६ जना प्रवेश गरेका हुन् । त्यसैगरी नेपाली कांग्रेस लिम्चुङ्गबुङ्ग गाउँपालिका–२ का सचिव कमान चाम्लिङ्ग राईको नेतृत्वमा १५ जना र स्थानीय तहको निर्वाचनमा वडामा जसपाका उमेदवार बनेका बाबुराम राईको नेतृत्वमा ९ जना नेता कार्यकर्ता एमालेमा प्रवेश गरेको उनले बताए ।

उनीहरूलाई एमालेका प्रदेश कमिटी उपसचिव शैलेश लामा, प्रदेश कमिटी सचिवालय सदस्य तथा प्रतिनिधिसभा सदस्य–२ का उमेदवार अम्बरबहादुर रायमाझी, पूर्वमन्त्री कला घले, प्रदेश कमिटी सदस्यद्वय डा. भेषराज थापा, प्रदेश (क) का उमेदवार देवराज राई, पार्टी अध्यक्ष परमेश्वर घिमिरे, उपसचिब टेकबहादुर राउतलगायत जिल्ला कमिटीका नेताहरूले स्वागत गरेका हुन् ।
जनयुद्धकालीन कार्यकर्ताकोरूपमा स्थापित होम किराँती पार्टी भित्रकै विभेदका कारण छोड्न बाध्य भएको बताए । एक दिनअघि मात्र उनले आफ्नो फेसबुक पेजबाट पार्टी परित्याग गरेको घोषणा गरेका थिए । लगत्तै उनी एमालेमा समाहित भएका हुन् ।
आफ्ना शुभचिन्तक, शुभेच्छुक र समर्थकप्रति सान्त्वना दिँदै उनले फेसबुक पेजमा लेखेका छन्, ‘श्रदेय दाजुभाई तथा दिदिबहिनीहरूमा मुटुमाथि ढुंगा राखेर यो कुरा अवगत जाहेर गर्न चाहन्छौँ कि आज हामी पार्टीका जिम्मेवार कम्रेडहरूले अत्यन्तै निर्मम र कठोर निर्णय गर्ने कठिन परिस्थितिमा उभिएका छौँ कि करिब १७ वर्षे राजनीतिक जीवन यात्रालाई पूर्णविराम लगाउँदै थाती राख्ने निर्णय गरेका छौ ।’
त्यसअघि उनले लेखेका छन्, ‘माओवादी पार्टीका नेता तथा कार्यकर्ताहरूमा बिकारालरूपमा पलाएको कमिसन, भ्रष्टाचार, लुट, दलाल, अनैतिकता, व्यक्तिवाद, नातावाद, कृपावाद, परिवारवाद र अवसरबाद एवम् कुहिएको विकृत पुँजीवादी सोच, चिन्तन, कार्यशैली र प्रवृत्तिप्रति घोर बिमति राख्दछौँ,’ उनले भनेका छन्, ‘अब माओवादी पार्टी जनताको पार्टी बन्न नसक्ने निस्कर्षसहित आजको मिति र तत्काल अहिलेबाट कार्यान्वयन हुने गरी पार्टीबाट सदाका लागि अलग हुने गरी स्वैच्छिक एवम् सामुहिक रूपमा पार्टी परित्याग गरेका छौँ ।’

र, अन्तममा लेखेका छन्, ‘माओवादी पार्टीको राजनीतिक जीवनमा माया, प्रेम, सद्भाव, सहयोग र ऊर्जा दिनुहुने, राजनीतिक शिक्षा र दीक्षा दिई प्रशिक्षित गर्नु हुने श्रदय अग्रज एबम दिग्गज नेतागणहरूप्रति राजनीतिक आस्था र विचार फरक भए पनि सदैव उच्च सम्मान रहने छ र राजनीतिक जीवनमा अविस्मरणीय रूपमा सम्झिरहने छौँ । साथै उहाँरुको उज्ज्वल राजनीतिक भविश्यका लागि शुभकामना पनि व्यक्त गर्ने छौँ ।’
पार्टी प्रवेश कार्यक्रममा पनि नेता किराँतले सोही कुरा दोहोर्याउँदै अब मुलुक समृद्ध एमालेबाट मात्र सम्भव रहेको बताएका छन् । उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमाले पहिलो शक्तिको रूपमा उदाउने देखिएकाले सबै पक्षलाई सहयोगको अपेक्षा गरे ।
१७ वर्षदेखि निरन्तर पार्टीमा कृयाशील राई दुई वटै स्थानीय तहको निर्वाचनमा गाउँपालिका अध्यक्षको आकांक्षी थिए । सालिन तथा प्रष्ट वक्ताको रूपमा परिचित किराँती पार्टीभित्र मौलाउँदै गरेको गुटको विपक्षीमा उभिदा टिकट पाउन सकेका थिएनन् ।
दुबै किराँती नेताहरूको प्रवेशले एमाले लिम्चुङ्गबुङ्गमा थप मजवुद बनेको गाउँपालिका कमिटीका अध्यक्ष भलराज राईले बताए । उनले जनताप्रति एमालेको बढ्दो आकर्षणको कारण गाउँघरमा एमाले प्रवेशको लहर बढ्दै गएको बताए ।
गत वैशाखमा भएको स्थानीय तहको निर्वाचनमा झिनो मतले विजयी भएका गठबन्धनका उमेदवारका लागि किराँतीद्वयको पार्टी परित्यागले ठूलो क्षति पुर्याएको राजनीतिक वृतमा चर्चा छ । त्यसमा पनि माओवादीको ठूलो शक्ति एमालेमा प्रवेशले माओवादी कमजोर बनेको आँकलन छ ।
पाँचदलीय गठबन्धनसँगै एक्लै स्थानीय तहको निर्वाचनमा होमिएको एमाले झिनो मतले पराजित भएको थियो । कार्यक्रममा नवप्रवेशीलाई स्वागत गर्दै नेताहरूले मुलुकको समृद्धिका लागि एमालेमा गोलबद्ध हुन् आग्रह गरे ।















प्रतिक्रिया