२ कार्तिक २०८३, सोमबार

तिहारमा किन खेलिन्छ देउसी र भैलो ?

826
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, ७ कात्तिक । तिहार सुरू भएसँगै उल्लासपूर्ण रूपमा देउसी र भैलो खेलिन थालिएको छ ।

देउसी र भैलो खेलेर उचित दान लिने तथा दान दिने घरधनीलाई आशीर्वाद दिने गरिन्छ । तिहारको पाँचौँ दिनसम्म नै विभिन्न मनोरञ्जनका साथ घरघरमा गएर देउसी खेली रमाइलो गरिन्छ ।

बलिराजाका पालादेखि नै समूह बनाएर देउसी र भैलो खेल्ने चलन चलिआएको पाइनछ । र उक्त चलन अहिलेसम्म पनि कायमै छ । तर, पहिलेको तुलनामा भने हिजोआज देउसीभैलो खेल्न निस्कने समूह कमै मात्रामा भेटिन्छन् ।

केही युवा समूह मिलेर परम्परा धान्न र सामाजिक कार्यका निम्ति देउसीभैलो खेल्ने गरेका छन् । उनीहरूले साँझ मात्रै नभएर दिउँसै पनि देउसीभैलो खेलेको देख्न सकिन्छ ।

देउसी र भैलोको प्रसङ्गमा बलिराजाको कथा जोडिएर आउँछ । पौराणिक कथन अनुसार दानवराज बलीले वामन अवताररूपी विष्णुले मागेको तीन पाइला जमीनमध्ये दुई पाइलामा सम्पूर्ण भू–भाग ढाकिएकाले तेस्रो पाइलामा आफ्नो शीर दिएका थिए ।

त्यसबेला विष्णुले ‘देऊ शीर’ भनी मागेकाले अपभ्रंश भई अहिले देउसीको गाथा चलेको संस्कृतिबिद्हरूको भनाई छ । आफ्नो सर्वस्वहरण भई पाताल पुगेका बलीलाई विष्णुले वर्षको तीन दिन पृथ्वीमा तिम्रो आधिपत्य रहनेछ भन्ने वरदान दिएको सम्झना गर्दै मानिसहरूले देउसी र भैलो खेल्ने परम्परा चलाएको कथन छ ।