२ कार्तिक २०८३, सोमबार

‘सपनामा पनि भुइँचालो गएजस्तो लाग्छ’

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

chitwanचितवन, २७ वैशाख । वैशाख १२ गते विनाशकारी भूकम्प आउँदा गोरखा, भुम्लीचोकका श्रीप्रसाद गुरुङ र पत्नी तारामाया घरभित्रै थिए। तारामाया लर्खराउँदै जसोतसो बाहिर निक्लिइन्। श्रीप्रसाद भने घरभित्रै पुरिए। माटो र ढुंगाभित्र पति फसेपछि तारामाया आत्तिइन्, चिच्याइन् ।

केही बेरअघिको सग्लो घर माटाको थुप्रो बनेको थियो। ‘धर्ती हल्लिरहेकै थियो। त्यही थुप्रोवरिपरि बूढा–बूढा भनेर चिच्याएँ तर कतै हलचल थिएन,’ उनले सम्भि्कइन्। अचानक थुप्रोमा प्वाल पार्दै पतिले टाउको बाहिर निकालेपछि भने तारामायाको सास फर्कियो। ताराप्रसाद थुप्रो खोस्रँदै बाहिर निस्के। मृत्युको मुखबाट पुनर्जीवन लिएर आएका पतिसँग ताराको पुनर्मिलन भयो। ‘काठको कापमा पसेकाले बाँचेँ,’ श्रीप्रसादले भने, ‘भित्रको अवस्था सम्झँदा अझै आङ जिरिंग हुन्छ ,जिउ थर्थरी काम्छ।’
घर भत्केपछि त्रिपालमा बसिरहेका उनीहरू अहिले रुखका पात हल्लँदा पनि एकअर्कालाई अँगाल्न पुग्छन्। भूकम्पले दिएको मानसिक त्रासले राति पनि निदाउन सक्दैनन्।

गोरखाकी सुशीला उपरकोटीलाई पनि अहिले जुनसुकै बेला भूकम्प आएजस्तो, जमिन हल्लिएजस्तो लाग्छ। भूकम्प नआउँदा पनि उनीहरू आत्तिँदै चिच्याउँछन्। गोरखा, बुङ्कोट–९ मैलुङकी फूलमाया रम्तेलको घर भूकम्पले चर्किएको छ। बस्न सकिने अवस्थै छैन। गर्भवती बुहारी अस्मितालाई स्याहार गर्नुपर्ने बेलामा बारीको बास भएको छ। खाने अन्न छैन। अलिअलि आउने राहतसमेत टाठाबाठाले मात्र पाउने गरेको उनको गुनासो छ। त्यसमाथि उनलाई पनि मनोवैज्ञानिक समस्याले उत्तिकै पिरोलिरहेको छ। ‘टाउको दुख्छ, रिँगटा पनि लाग्छ, जतिखेरै भूकम्प आएजस्तो लाग्छ,’ भन्छिन्। गोरखा केन्द्रविन्दु बनाएर आएका पटकपटकका भूकम्पले त्यहाँका अधिकांश घर भत्किएका छन्।

हेटौंडाकी गंगा ठकुरीले काठमाडौंमा सातवर्षीय नाति गुमाइन्। शोकाकुल उनी अहिले दुईतले घरको माथिल्लो तलामा बस्नै डराउँछिन्। तल्लो तलाका भित्ता चर्चरी चर्किएका छन्। ‘माथि जानेबित्तिकै घरै हल्लिएजस्तो लाग्छ,’ उनी भन्छिन्, ‘अब त तल नै सुत्छु, जान्नँ माथि।’

महाभूकम्पसँगै लगातार आइरहेका कम्पनले त्रस्त सर्वसाधारणमा मनोसामाजिक समस्या देखा पर्न थालेको छ। १३ दिन बितिसक्दा पनि उनीहरू सामान्य जनजीवनमा फर्कन सकेका छैनन्। ‘सामान्य बन्न कोसिस गर्दागर्दै पनि हुन नसकिँदो रहेछ,’ भरतपुरका कुवेर पौडेलले भने, ‘मनमा एकतमासको डरले सताइरहन्छ।’

भूकम्प आउँदा भिरबाट गुल्टँदै गरेको ढुंगाबाट जोगिए पनि सिद्धि गाउँकी सुवर्णमायालाई अझै डर लाग्न छाडेको छैन। ‘कति बेला फेरि भूकम्प आउने हो वा घर र ढुंगाले थिचेर मार्ने हो कि भन्ने पिर लाग्छ,’ उनले भनिन्, ‘बेलाबेला टाउको घुमाउँछ, सपनामा पनि भुइँचालो गएको देख्छु।’ चितवनका पहाडी गाउँ भूकम्पको चपेटामा बढी परेका छन्। तीन हजारभन्दा बढी घर क्षतिग्रस्त छन्। चितवनमा सात जनाको मृत्यु भएको जिल्ला विपद् व्यवस्थापन समितिले जनाएको छ।

प्राकृतिक प्रकोप र महाविपत्तिपछि मानिसमा मनोसामाजिक समस्या देखिने भएकाले परामर्श–सेवा आवश्यक पर्ने भरतपुर अस्पतालका डा. भोजराज अधिकारी बताउँछन्। ‘यस्तो बेला परिवार, छिमेकीमा सकारात्मक कुराकानी र सन्देश छर्नुपर्छ,’ उनले भने। सञ्चारमाध्यमले पनि भूकम्पपछिको त्रास हटाउने खालका सामग्री प्रकाशन–प्रसारण गर्नुपर्नेमा मनोचिकित्सक जोड दिन्छन्। जनजीवन सामान्यीकरण गर्न आशा जगाउने खालका सन्देश नै ठूलो औषधि हुने उनीहरूको भनाइ छ । आजको नागरिक दैनिकमा समाचार छ ।