२ कार्तिक २०८३, सोमबार

आत्महत्याको चुनौती कायमै, एकै दिन दुई झुण्डिए

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Sucideइलाम, २७ वैशाख । विकास, चेतना र संवृद्धितर्फ लम्किइरहेको भए पनि इलामलाई आत्महत्याको चुनौतीले झनै गाँजिरहेको छ। आत्महत्या गर्नेक्रम वर्षेनी बढेको अवस्थामा त्यसलाई न्यूनिकरण गर्न अपनाइएका सबैखाले प्रयास असफल हुँदैछन्।
जानी जानी ज्यान फाल्ने अर्थात् आत्महत्या गर्नेक्रम नरोकिँदा सरोकारवाला निकाय चिन्तित छन् भने शोकमा डुब्ने परिवार सदस्य बाँचुञ्जेल कलंकको टीका लाउन बाध्य छन्।चालु आर्थिक वर्ष २०७१/०७२ का ९ महिनामा ६८ जनाले जानी जानी ज्यान फालेको इलाममा पछिल्लोपल्ट शनिबार दुई जनाले उसैगरी मृत्युको अप्रिय बाटो रोजेका छन्। जिल्ला प्रहरी कार्यालयका अनुसार, दुई छुट्टाछुट्टै स्थानका महिला पुरुषले एकै दिन एकै प्रकृतिबाट अर्थात् झुण्डिएर आत्महत्या गरेका हुन्। उनीहरुसहित बैशाखयता आत्महत्या गर्नेको संख्याले उल्लिखित तथ्यांक अझै बढाएको छ।
प्रहरी निरीक्षक ईश्वर थापाका अनुसार, शनिबार बिहान ३ बजेर २० बजेतिर इलाम नगरपालिका–६, तिल्केनी निवासी अन्दाजी ४० वर्षीय बिक्रम राईले आत्महत्या गरेका हुन्। आफ्नै घरको दलिनमा प्लाष्टिक डोरीको पासो लगाएका उनलाई परिवार सदस्यले मृत फेला पारेपछि प्रहरीमा खबर गरेका थिए। सूचनालगत्तै घटनास्थल पुगेको प्रहरीले इलाम अस्पतालमा मृतक राईको शव पोष्मार्टम गराई आफन्तलाई बुझाइसकेको छ।

यस्तै, पश्चिम शान्तिडाँडा–९ निवासी अन्दाजी ५२ बर्षीया हिमकला कटुवालले झुण्डिएरै मृत्युको अप्रिय बाटो रोजेकी हुन्। बिहान ११ बजेतिर उनलाई झुण्डिएर मृत अवस्थामा फेला पारेपछि परिवारजनले नजिकैको मंगलबारेस्थित इलाका प्रहरी कार्यालयमा खबर गरेका थिए। त्यहा”का प्रहरी निरीक्षक भूपेन्द्र गिरीले खबर पाएलगत्तै सत्यतथ्य बुझ्न प्रहरी टोली घटनास्थलतर्फ परिचालन गरिएको जानकारी दिए।

आत्महत्याको खबरले जिल्लावासीलाई दुःखी पार्दै आएको अवस्थामा यसअघि फागुन २६ गते एकै दिन दुई जनाले जानी जानी ज्यान फालेका थिए। त्यस दिन इलाम नगरपालिका–४, गोलाखर्कका ५३ वर्षीय सानबहादुर भण्डारीले घर नजिकैको कोइरालाको रुखमा झुण्डिएर आत्महत्या गरेका थिए। भण्डारीको आत्महत्या कारण अझै नखुल्दा परिवारमाथि तनाव छ। उनी पशुपालन गर्दै दुग्ध व्यवसायमा संलग्न थिए।

पूर्वी गोदक–६ घर भई इलाम नगरपालिका–६, तिल्केनीमा डेरा गरी बस्ने २० वर्षीया सिर्जना गजमेरले पनि त्यसै दिन झुण्डिएर आत्महत्या गरेकी थिइन्। अध्ययनका सिलसिलामा दिदीको घरमा बस्दै आएकी उनले आत्महत्या गरेको स्थानीयले बिहान मात्र देखेका थिए। स्नातक दोस्रो बर्ष अध्ययरत उनी पढाइमा तेज थिइन्। सबैसँग हाँसी खुसी प्रस्तुत हुने गजमेरको आत्महत्याले सहपाठी र शुभचिन्तकलाई थुप्रै दिन झस्काएको थियो। जानी जानी ज्यान खेर फाल्नेक्रम त्यतिमा सीमित छैन।

मंसिर २१ गते एकै दिन दुई जनाले नै आत्महत्या गरेका थिए। दानावारी–१ की ३५ वर्षीया लक्ष्मी शिवा दर्जीले आफ्नै घरको सुत्ने कोठामा झुण्डिएर आत्महत्या गरेकी थिइन्। स्थानी ईश्वरबहादुर दर्जीस”ग तीन महिनाअघि विवाह गरेर आएकी लक्ष्मीको आत्महत्याको कारण अझै खुल्न सकेको छैन। उनको माइती खोटाङ भएको प्रहरीले जनाएको छ। त्यस्तै, साँखेजुङ–२ का ४० वर्षीय घनश्याम गुरुङले त्यसै बिहान आत्महत्या गरेका थिए। राती खाना खाएर घरमै सुतेका उनी आफ्नै खेतको खन्यूको रुखमा सनपाटको डोरीले झुण्डिएर आत्महत्या गरेको अवस्थामा फेला परेका थिए। एक सन्तानका अभिभावक गुरुङको पनि आत्महत्याको कारण खुलेको छैन। त्यसयता फाट्टफुट्ट सुनिने आत्महत्याका घटनालाई जिल्लावासीले चहर्‍याइरहने घाउका रुपमा लिएका छन्।

प्रहरी निरीक्षक थापाका अनुसार, चालु आर्थिक बर्षमा साउनदेखि चैतसम्म ६८ जनाले आत्महत्या गरेका छन्। त्यसमा झुण्डिएर ज्यान खेर फाल्ने ५६, विषादी सेवनबाट मृत्युको बाटो रोज्ने ११ र औजार प्रयोग गरेर मृत्युको अप्रिय बाटो रोज्ने एक छन्। ‘इलाममा आत्महत्या गर्नेको संख्या वर्षेनी बढेको तथ्यांक देख्दा यसको चुनौती ठूलो आंकलन गर्न सकिन्छ’ थापा भन्छन्, ‘सरोकारवाला सबै अब नियन्त्रणतर्फ लाग्नुपर्छ।’

प्रहरी अभिलेख अनुसार, आर्थिक वर्ष २०६६/०६७ मा ३५ जनाले आत्महत्या गरेको इलाममा अर्को वर्ष ०६७/०६८ मा २६ जनाले मात्र मृत्युको अप्रिय बाटो रोजेका थिए। त्यसलगत्तै ०६८/०६९ मा योक्रम हवात्तै बढेर ७६ मा पुगेको थियो। अर्को वर्ष ०६९/०७० मा अझ बढेर ७८ भयो भने ०७०/०७१ मा एकैनास अर्थात ७७ जनाले आत्महत्या गरेको पाइयो। यस वर्ष यो संख्या अझ बढ्नसक्ने सम्भावना देखिएको छ । आजको नागरिक दैनिकमा समाचार छ ।