२ कार्तिक २०८३, सोमबार

पहिरोमा फसेका २७ जना सकुशल भेटिए, उद्दार गर्न कठिन

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

langtang_valley_nepalरसुवा, २७ वैशाख । महाभूकम्पपछि आएको पहिरोमा हराइरहेकाको खोजीमा शनिबार रसुवाको हाकु, गोगनेमा दुईतर्फी पहिरोको चेपुवामा परेका आफन्त र नेपाल प्रहरीका ९ सदस्यसहित २७ जना सकुशल रहेको बताइएको छ। फिस्टेल एयरको हेलिकप्टरबाट शनिबार अपराह्न ४ बजतिर पहिरो पन्छाउँदै हाकु–८, गोगने पुगेका उनीहरु लगत्तै आएको ठूलो पहिरोमा फसेका थिए।
‘हामी पहिरोको बीचमा फसिरहेका छौँ,’ उद्धार टोलीमा रहेका प्रहरी सहायक निरीक्षक विक्रम केसीले नागरिकसँग टेलिफोन सम्पर्कमा भनेका थिए, ‘दिउँसो ४ः३० बजे प्रहरी जवान मनोज मिश्र र हराइरहेका कामदार सल्यानका चित्रमान पुनको शव फेला परेकोे छ।’

प्रहरीसँगै गएका पुनका छोरा रणबहादुर बाबुको शव भेटिए पनि आफैं मर्ने अवस्थामा पुगेको भन्दै भावविह्वल छन्। ‘माथिबाट ठूलाठूला ढुंगा झरिरहेका छन्, हामी त्रिशूली किनारनजिक ठूलो ढुंगाको आड लिएर बसिरहेका छौं,’ केसीले भने।
उनका अनुसार त्यहाँ शनिबार राति ठूलो पानी परिरहेको छ, ढुंगा खस्न रोकिएको छैन। ‘उद्धारका लागि पहल गरिदिनुपर्‍यो। पानी निरन्तर परिरहे ठूलो पहिरो आउन सक्छ,’ उनले भने।
प्रहरी निरीक्षक हेम केसीको नेतृत्वमा ९ प्रहरी र बेपत्ताका आफन्त गोगने पुगेका हुन्। प्रहरी टोलीले उद्धार गरिदिन हेलिप्याडसमेत बनाएको बताए। ‘सबै ठाउँमा खबर गर्‍यौं, अहिलेसम्म कोही आउन सकेका छैनन्,’ केसीले भने, ‘नेपाली सेना र सशस्त्र प्रहरी पनि तत्काल आउन सक्ने अवस्था छैन।
महाभूकम्पपछि हाकु–८ मैलुङ क्षेत्रमा हालसम्म १ प्रहरीसहित ३७ कामदार हराइरहेको खुलेको छ। नुवाकोट र रसुवा सीमास्थित २ सय १६ मेगावाटको माथिल्लो त्रिशूली जलविद्युत आयोजनास्थलसम्म पुग्ने बाटो निर्माणमा परिचालित कामदार पहिरोले पुरिएका हुन्। आयोजनास्थलसम्म पुग्ने बाटो निर्माणमा कति कामदार थिए भन्नेसम्म सम्बद्ध जयन्ती कन्स्ट्रक्सनले खुलाउन सकेको छैन। त्यहाँ रोल्पा, दाङ, सल्यान, कपिलवस्तु र धादिङका कामदार हराइरहेका छन्। मैलुङको अवस्थाबारे मानिस सबै कुरा गर्छन। शनिबारको दिन मैलुङमा पिकनिक मनाउन त्रिशूलीबाट गएका १४ जनामध्ये ७ जनाको मृत्यु भएको छ। त्यसमध्ये एक जनालाई गम्भीर घाइते अवस्थामा ९२ घन्टापछि त्रिशूलीको टोलीले पहिरोबाट जीवितै उद्धार गरेको थियो।
भूकम्प प्रभावित क्षेत्र निरीक्षण गर्न बुधबार नुवाकोट आइपुगेका प्रधानमन्त्री सुशील कोइरालालाई राजनीतिक दलका स्थानीय कार्यकर्ताले पनि मैलुङमा हराइरहेकाको खोजीमा विशेष ध्यान दिन आग्रह गरेका थिए।
हराइरहेकाका केही आफन्त बुधबार नै आयोजनालाई खोजीमा तीव्र दबाब दिन राजधानी लागेका छन्। ‘आयोजनाका लागि बाटो खन्दा रसुवाको शान्तिबजारदेखि मैलुङसम्म पहिरो गइरहनुमा ब्लास्टिङले चट्टान कमजोर भएको हुनसक्छ, सोही कारण पनि भूकम्प जाँदा बढी क्षति भएको हो,’ मंगलबार मात्र गृहसचिव सूर्य सिलवालको टोलीले मैलुङ र लाङटाङ गाउँको निरीक्षण गरेको थियो । आजको नागरिक दैनिकमा समाचार छ ।