२ कार्तिक २०८३, सोमबार

सहमतीय सरकार बनाउन दलहरु कस्सिए, को को बन्दैछन् मन्त्री ?

0
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

Kp-oli-sushil-prachandaकाठमाडौं, २७ वैशाख । प्रमुख दलका शीर्ष नेताले राष्ट्रिय सहमतीय सरकार गठनको पहल थालेका छन् । व्यवस्थापिका संसदको बैठकमा आ-आफ्नो धारणा राख्दै उनीहरूले विपदको सामना र संविधान निर्माणका लागि राष्ट्रिय सहमतिको सरकार गठनमा जोड दिएका छन् ।
केही दिनअघि चारदलको बैठकमा पनि सत्तापक्षका शीर्ष नेताले विपदको सामना र संविधान निर्माणका लागि सबै दल सहभागी सरकार गठन गरिनुपर्ने प्रस्ताव गरेका थिए। यस प्रस्तावमा विपक्षमा रहेका राजनीतिक दल पनि तयार भएका छन्। ‘सहमतीय सरकारको विपक्षमा अहिलेसम्म कोही देखिएको छैन तर नेतृत्व कसले गर्ने भन्ने प्रमुख कुरा हो,’ एक शीर्ष नेताले भने।
व्यवस्थापिका संसदको शनिबार बसेको बैठकमा पनि सत्तारुढ र विपक्षी दलका प्रभावशाली नेताले राष्ट्रिय सहमतिको सरकार आवश्यक भएको औंल्याए। पूर्वप्रधानमन्त्री एवं कांग्रेस वरिष्ठ नेता शेरबहादुर देउवाले विपदले देश एकजुट बनाएको अवस्थालाई अवसरका रूपमा लिएर अघि बढ्नुपर्ने बताए। ‘संसद, पार्टी, संविधानसभा र सबै राजनीतिक दल एक छौं भन्ने सन्देश दिन जरुरी छ,’ देउवाले भने।
पूर्वप्रधानमन्त्री एवं नेकपा एमालेका वरिष्ठ नेता माधवकुमार नेपालले पनि सहमतिको सरकार बनाउन प्रस्ताव गरे। ‘सहमतिको सरकार बनाऊँ,’ उनको प्रस्ताव थियो, ‘संविधान पनि जारी गरौं। स्थानीय निकायको निर्वाचन पनि गरौं। सबै दलले यस्तो संकल्प लिएर अघि बढौं।’ सबैमा राष्ट्रियता र देशभक्तिको भावना जागेकाले राज्यले पनि त्यहीअनुसारको उपस्थिति देखाउन सक्नुपर्ने उनले बताए।
पूर्वप्रधानमन्त्री एवं एमालेकै अर्का वरिष्ठ नेता झलनाथ खनालले सबै दलका मतभिन्नता थाती राखेर एकताका साथ अघि बढ्नुपर्ने बताए। उनले राष्ट्रिय एकताको खाँचो औँल्याउँदै सहमतिको सरकार बनाउनेतर्फ सोच्न सबै राजनीतिक दललाई आग्रह गरे। ‘राष्ट्रिय सहमतिको सरकार बनाउनेबारे सोचौं,’ उनले भने, ‘साझा कार्यक्रम ल्याऊँ। अनि पुनःनिर्माणको प्रक्रियामा अघि बढौं।’
एनेकपा माओवादीका वरिष्ठ नेता एवं पुर्वप्रधानमन्त्री बावुराम भट्टराईले पनि केही दशक नेपालमा राष्ट्रिय सरकार बनाएर जानुपर्ने धारणा राखे। ‘नेपालमा केही दशक अझै सहमतीय सरकारको आवश्यकता छ,’ उनले भने, ‘त्यसका लागि गतिशील नेतृत्व चाहिन्छ। अब धेरैले नेतृत्वका लागि लोभलालच नगरौं। सक्ने र नयाँ पुस्तालाई नेतृत्व दिऊँ।’
कांग्रेस उपसभापति रामचन्द्र पौडेलले राष्ट्रिय सहमतिको सरकार गठनका लागि पार्टी सभापति एवं प्रधानमन्त्री सुशील कोइराला पनि तयार रहेको बताए। ‘एउटै कार्यकारिणीमा रहेर देशलाई अघि बढाउनु अहिलेको आवश्यकता हो,’ पौडेलले भने, ‘यसलाई कुरामात्र होइन, ठोस रूपमा पूरा गर्नुपर्छ।’
सहमतिको सरकारका लागि कांग्रेस उदार नै रहेको उनले बताए। ‘कांग्रेस उदार नै छ,’ उनले भने, ‘सहमतिका लागि कांग्रेसले आफूलाई अघि र पछि सार्न तयार छ। सत्ता राजनीतिमात्रै होइन, नयाँ नेपाल निर्माणका लागि पनि सबै तयार हुनुपर्छ।’
पौडेलले सिद्धान्त तय भए जसले पनि नेतृत्व गर्नसक्ने धारणा राखे। ‘सहमतिको सरकार बन्ने अवस्थामा कांग्रेस नेतृत्व छाड्न तयार हो?’ भन्ने प्रश्नमा उनले भने, ‘पहिले नै छोड र हट भन्नु राम्रो होइन, यसले एकताको सन्देश दिन सक्दैन, पहिले ठाउँ खाली गर्देऊ भन्दा एकतामा खलल पुग्न सक्छ। त्यसैले अहिले सरकारको नेतृत्व कसले गर्ने भन्दा पनि एकजुट भएर जानु महत्वपूर्ण कुरा हो।’
यसअघि शुक्रबार व्यवस्थापिका संसदको बैठकमा सम्बोधन गर्दै एमाओवादीका अध्यक्ष पुष्पकमल दाहाल, एमालेका अध्यक्ष केपी शर्मा ओलीले विपदको सामना र संविधानका लागि मन मिलाएर एकवद्ध भई अघि बढ्नुको विकल्प नभएको बताएका थिए । आजको नागरिक दैनिकमा समाचार छ ।