
काठमाडौं, ४ कात्तिक । विज्ञापन व्यवसायसँग सम्बन्धित व्यवसायी धर्मेन्द्र काजी श्रेष्ठको नेतृत्वमा राष्ट्रिय विज्ञापन संघ नेपाल गठन भएको छ ।
विज्ञानपनदाता, सञ्चार माध्यम र उपभोक्ताबीच समन्वय गरी मध्यस्थताको रुपमा कार्य गर्दै प्रचार–प्रसारसँग सम्बन्धित ब्यवसायी (विज्ञापन एजेन्सी) लाई एकताबद्घ गरी व्यावसायिक हकहितको संरक्षण र सम्वद्र्घन गर्ने उद्देश्यले राष्ट्रिय विज्ञापन संघ नेपाल (नान) को स्थापना गरिएको शुक्रबार पत्रकार सम्मेलन गरी जानकारी दिइएको छ ।
गत असोज २८ गते जिल्ला प्रशासन कार्यालय काठमाडौंमा दर्ता भएको संघको ११ सदस्यीय तदर्थ समितिको प्रथम उपाध्यक्षमा प्रदीप प्रसाद कोईराला, द्वितीय उपाध्यक्षमा अमृत कुमार पन्थी, महासचिवमा आशिष खड्का र सचिवमा विमल खड्का छन् ।
यसैगरी संघको कोषाध्यक्षमा कमला पौडेल अर्याल, सह–कोषाध्यक्षमा बसन्त योगी तथा सदस्यहरूमा रवि अर्याल, ईन्द्रमणि न्यौपाने, राम बज्राचार्य र गुञ्जमणि भट्टराई छन् ।
संस्था गठन भएसँगै विभिन्न ६७ वटा एजेन्सीहरू सदस्य बनिसकेको संघका महासचिव आशिष खड्काले जानकारी दिए । ‘मेरो मात्र नभई हामी र हाम्रो’ भन्ने मूल मन्त्रलाई आत्मसाथ गर्दै संघ गठन गरिएकाले सदस्य बन्न चाहने देशैभर छरिएर रहेका आम विज्ञापन एजेन्सीलाई सदस्य बन्न उनले आह्वान समेत गरेका छन् ।
विज्ञापन क्षेत्रमा देखिएका अस्वस्थ प्रतिस्पर्धा, कोरोना महामारीबाट आजित व्यवसायी तथा मुलुकको बिग्रदो आर्थिक अवस्थालाई दृष्टिगत गर्दै त्यस्ता विपत्तीबाट बच्न र बचाउन यस क्षेत्रमा लागेका एजेन्सी, विज्ञापनदाता, तथा सम्बन्धित सरोकार निकायसँग सहकार्य गर्दै अगाडि बढ्ने उद्देश्यका साथ राष्ट्रिय विज्ञापन संघ नेपाल गठन गरिएको बताइएको छ ।















प्रतिक्रिया