
काठमाडौं, ४ कात्तिक । टोखा खानेपानी तथा सरसफाई उपभोक्ता समितिमा स्मार्ट वाटर प्रविधि सुरू गरिएको छ ।
समितिले फिनटेक कम्पनी दियालो टेक्नोलोजिज प्रालिले विकास गरेको पूर्ण अटोमेशनको स्मार्ट वाटर प्रविधि प्रयोगमा ल्याएको हो । राजधानीमा एक कार्यक्रमको आयोजना गरी टोखा नगरपालिकाका मेयर प्रकाश अधिकारीले प्रविधि प्रयोगको शुभारम्भ गरे ।
कार्यक्रममा मेयर अधिकारीले यो अत्याधुनिक प्रविधि भएकाले सबै खानेपानी समितिहरूमा यसको प्रयोग हुनुपर्ने बताए । ‘अहिलेको प्रविधिको युगमा यो सफ्टवेयरको प्रयोगले खानेपानी क्षेत्रमा एक किसिमको क्रान्ति नै ल्याउँछ,’ उनले भने, ‘समितिदेखि उपभोक्ताको सहजताका लाागि मात्र नभएर राज्यका लागि समेत यो महत्वपूर्ण हुने हुनाले यो प्रयोग गर्न म सबैमा अपिल समेत गर्दछु ।’
कार्यक्रममा खानेपानी तथा ढल व्यवस्थापन विभाग इआउका प्रमुख डा. रजित ओझाले वाटर युटिलिटी करियर पथ र दियालो टेक्नोलोजिजका बिजनेस हेड रोशन गौतमले स्मार्ट वाटर म्यानेजमेन्टका विषयमा कार्यपत्र प्रस्तुत गरेका थिए । कार्यक्रममा बाग्मती प्रदेशका खानेपानी समितिका प्रतिनिधिलगायतको समेत उपस्थिति थियो ।
यो प्रविधिले खानेपानी क्षेत्रलाई पूर्ण रूपमा अटोमेशन गर्ने छ । दियालोले खानेपानी समितिदेखि उपभोक्तासम्म, उत्पादन तथा वितरणदेखि उपभोक्ताको घरघरमा स्मार्ट मिटररिडिङ्ग, बिलिङ्गदेखि जिन्सी व्यवस्थापन, पानीको गुणस्तर मापनदेखि ट्यांकी व्यवस्थापनसम्मका करिब १५ वटा प्रणालीहरूको विकास गरेको बताएको छ ।
हालसम्म करिब ७०० वटा खानेपानी समितिहरूलाई डिजिटलाईजेशन गरिसकेकोे दियालोले खानेपानी क्षेत्रका सम्पूर्ण प्रक्रियालाई अन्तराष्ट्रिय मापदण्डको बनाउने उद्देश्यसहित यो प्रणालीको विकास गरेको बताएको छ । स्मार्ट वाटर प्रविधिको सुरुवात टोखा नगरपालिकाको टोखा खानेपानी तथा सरसफाई उपभोक्ता समितिबाट सुरू गरिएको छ ।
करिब दश वर्ष अगाडि स्थापना भएको दियालो टेक्नोलोजिजले खानेपानी क्षेत्रलार्य आवश्यक पर्ने सफ्टवेयरहरू निर्माण गर्दै आएको जनाएको छ ।
दियालोले मिटर रिडिङ्ग मोबाइल एप, बिलिङ्ग व्यवस्थापन, एसएमएस प्रणाली, अनलाइन भुक्तानी, लेखा प्रणाली, जिन्सी व्यवस्थापन, मानव संशाधन व्यवस्थापन प्रणाली, एनआरडब्ल्यूः (पानी चुवाहट विश्लेषण) प्रविधि, ल्याव व्यवस्थापन प्रणाली, पम्प कन्ट्रोल प्रणाली, ग्राहक गुनासो व्यवस्थापन, भूमिगत पानीको तह विश्लेषण, मोबाइल एप्लिकेशन, इलेक्ट्रो म्याग्नेटिक पm्लोमिटर, ट्याङ्कीको पानी तह मापन प्रविधि जस्ता प्रणालीहरूको विकास गरेको छ ।
यी प्रणाली नेपालमा खानेपानी क्षेत्रलाई अन्तर्राष्ट्रिय स्तरको बनाउन महत्वपूर्ण भूमिका खेल्ने अपेक्षा गरिएको छ ।















प्रतिक्रिया