
काठमाडौं, ४ कात्तिक । सानिमा बैंकले पार्टनरशीप फर कार्बन एकाउन्टिङ फाइनान्सियल्स (पीसीएएफ)सँग साझेदारी गरेको छ ।
साझेदारीसँगै बैंकले आफ्नो वित्तीय गतिविधिबाट भएको हरितगृह ग्यास उत्सर्जनको गणना, समीक्षा र लेखाङ्कन गर्ने भएको छ ।
पीसीएएफ विश्वभर रहेका विभिन्न वित्तीय संस्थाहरुले आफूले प्रवाह गर्ने ऋण र लगानीद्वारा उत्सर्जन हुने हरितगृह ग्यासको हार्मनाइज रुपमा लेखाङ्कन, मूल्याङ्कन तथा डिस्क्लोजर गरी प्रकाशन गर्ने वित्तीय संस्थाहरुको सहकार्य हो ।
पीसीएएफमा विश्वका ६ वटा महादेशका ३०० भन्दा बढी वित्तीय संस्थाहरूकोे सहकार्य भइसकेको बताइएको छ । साथै, उत्तर अमेरिका, ल्याटिन अमेरिका, युरोप, अफ्रिका र एशिया प्रशान्तमा पनि तीव्र रुपमा विस्तार भइरहेको छ ।
सानिमा बैंकका प्रमुख कार्यकारी अधिकृत (सीईओ) निश्चलराज पाण्डेज्यूले यस साझेदारीबाट सानिमा बैंकले प्रदान गरेका कर्जाका क्षेत्रहरुबाट उत्सर्जन हुने हरितगृह ग्यासको वैज्ञानिक तवरले मापन गर्ने हुनाले भविष्यमा दीगो वित्तीय गतिविधि गर्नका लागि टेवा पुर्याउने कुरा बताए ।
सानिमा बैंकको सातै प्रदेशमा १२९ वटा कार्यालयहरु र १२२ एटीएमहरू सञ्चालनमा छन् ।















प्रतिक्रिया