
काठमाडौं, ४ कात्तिक । नेपाल पत्रकार महासंघ भोजपुर शाखाका उपाध्यक्ष सन्देश राईको अल्पायुमै निधन भएको छ ।
दम, सुगर तथा उच्च रक्तचापबाट पीडित ३२ वर्षीय पत्रकार राईको धरानस्थित बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानको आईसीयुमा उपचारकै क्रममा बिहीबार निधन भएको हो ।
भोजपुरमा रही सक्रिय पत्रकारिता गरिरहेका पत्रकार राई रेडियो भोजपुरमा स्टेसन म्यानेजरको रूपमा कार्यरत हुनुका साथै धरानबाट प्रकाशित ब्लाष्ट दैनिकमा समेत कार्यरत थिए ।
नेपाल पत्रकार महासंघले एक शोक विज्ञप्ति जारी गरी उनकोे निधनप्रति शोक व्यक्त गरेको छ । साथै नेपाली पत्रकारिता क्षेत्रले एक जुझारु र ऊर्जाशील युवा पत्रकार गुमाएको छ भने महासंघले सक्रिय सदस्य गुमाएको महासंघद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
‘महासंघ स्वर्गीय पत्रकार राईप्रति हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै दिवंगत आत्माको चिरशान्तिको कामना गर्दछ । साथै, शोकको यस घडीमा शोकसन्तप्त परिवारजनमा धैर्यधारण गर्ने शक्ति प्राप्त होस भन्ने कामनासहित गहिरो समवेदना व्यक्त गर्दछ,’ विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया