
काठमाडौं, ३ कात्तिक । नेकपा एमालेका वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेलले एमालेको सरकार आएपछि काठमाडौंको कलंकीदेखि चाबहिलको धोबीखोलासम्म ६ लेन सडक निर्माणले तीव्रता पाउने बताएका छन् ।
काठमाडौं क्षेत्र नम्बर ५ मा बिहीबार आयोजित कार्यक्रममा वरिष्ठ उपाध्यक्ष पोखरेलले मुआब्जा र सडक खाली गर्ने काम सकिए पनि एमाले सरकारबाट हटेपछि हाल सडक विस्तारको काम रोकिएको बताए ।
सुरूमा कलंकीदेखि महाराजगञ्ज चोकसम्म मात्र सडक निर्माण गर्न लागे पनि आफूले चिनियाँ पक्षसँग पहल गरेका कारण धोबीखोलासम्म निर्माण हुन लागेको उनले जानकारी दिए ।
पूर्व उपप्रधानमन्त्री समेत रहेका वरिष्ठ उपाध्यक्ष पोखरेलले धोबीखोला कोरिडोर र विष्णुमति कारिडोर निर्माण पनि छिट्टै सुरू हुने विश्वास व्यक्त गरे । धोबीखोला पुगेपछि सडक रातोपुलतिर डाइभर्सन गरेर गौशालातिर लैजाने योजना गरेको उनले बताए ।
कार्यक्रममा सहभागीहरूले गठबन्धनका नेताको घर परेका कारण कलंकी धोबीखोला ६ लेन निर्माण रोकिएको भन्दै पोखरेलसँग गुनासो गरेका थिए ।















प्रतिक्रिया