
तनहुँ, ३ कात्तिक । नेपाल कम्युनिष्ट पार्टी (एमाले) का स्थायी कमिटी सदस्य एवम् तनहुँ क्षेत्र नं २ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार किरण गुरुङले नेकपा (एमाले) ले मात्र देशको राष्ट्रियता जोगाउन सक्ने बताएका छन् ।
शेरबहादुर देउवा पुनः प्रधानमन्त्री बन्ने दाउबाहेक देश र जनताको हित गर्ने कुनै योजना नभएको बताउँदै उनले एमालेबाहेक देशको हितमा सोच्ने पार्टी अरू नभएको बताए ।
नेकपा (एमाले) व्यास–५ वडा कमिटीद्वारा आयोजित वडास्तरीय वृहत् प्रशिक्षण कार्यक्रममा उम्मेदवार गुरुङले पछिल्लो समय शेरबहादुर देउको सरकारले देश र जनताले कुनै पनि जनमुखी र राष्ट्रिय हितको काम गर्न नसकेको हुदाँ नेकपा (एमाले) मात्र देशको पक्षमा काम गर्ने पार्टी भएको जिकिर गरे ।
‘म पटक–पटक सासंद भएको छैन, भएको बेलामा सधैं जनताको काम गरेको छु, यस बीचमा अन्य साथीहरू चुनाव लड्नुभयो । त्यसैले सधैं एउटै व्यक्तिको आरोपमा सत्यता छैन,’ गुरुङले भने, ‘अहिले हाम्रो चुनाव क्षेत्रमा पाहुना उम्मेदवार आउनुभएको छ । उहाँ क्षेत्र नं १ मा उम्मेदवार हुन पाए २ नं मा आउनुहुन्थेन, पाहुना उम्मेदवारले हाम्रो क्षेत्रको विकास गर्न सक्दैन । भोलि अवसर पाए अर्को क्षेत्रमा जान्छन् अतः त्यस्ता व्यक्तिलाई विश्वास गर्न जनताले सक्दैनन् ।’
चुनावको मुखमा आएर युवा क्लव र आमा समूहलगायत संघ संस्थाहरूलाई प्रलोभन देखाएर चुनाव नजितिने बताउँदै उनले आफ्नो क्षेत्रमा आफूले धेरै विकास गरेको दाबी पनि गरेका छन् । अहिलेको आवश्यकता नै नेकपा (एमाले) को जित र देशको रक्षा भएको उनको भनाई छ ।
यसैगरी नेकपा एमालेका पोलिटव्युरो सदस्य एवम् तनहुँ इञ्चार्ज टुकराज सिग्देलले ओली सरकारको पालामा भएको काम र अहिलेको सरकारको कामलाई तुलना गर्न आग्रह गरे । ‘यथार्थमा उभिएर सरकारको समीक्षा गरौँ, फरक पाउनुहुनेछ,’ उनले भने ।
देशको अबको लक्ष्य भनेको ‘समृद्ध नेपाल सुखी नेपाली’ भएको बताउँदै उनले एमालेले थालनी गरेको त्यो अभियानको नेतृत्व एमालेले मात्रै गर्नसक्ने बताएका छन् ।
यसैगरि तनहुँ क्षेत्र नं २ (क) का उम्मेदवार श्यामराजा महतले विकास र समृद्धिका लागि नेकपा (एमाले) लाई जिताउन आग्रह गरे । ‘सधैं उही भन्ने हुँदैन, कामका आधारमा गुण र दोष छुट्टयाउनुहोस्,’ महतले भने ।
वडा कमिटीका अध्यक्ष राजकुमार श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा नेकपा एमाले तनहुँका सचिव राजेश्वर ढकाल, उपसचिव प्रदीपराज अधिकारीलगायतले सम्बोधन गरेका थिए ।















प्रतिक्रिया