
काठमाडौं, ३ कात्तिक । मेगा बैंक नेपालले ग्राहकहरूलाई सहज रूपमा घर, जग्गा तथा अपार्टमेन्टको रोक्का तथा फुकुवा कार्य ‘भू–सेवा केन्द्र’ सञ्चालनमा ल्याएको छ ।
भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय अन्तर्गतको भूमि व्यवस्थापन तथा अभिलेख विभागसँगको समन्वयमा भू–सेवा केन्द्र सञ्चालन निर्देशिका, २०७६ तथा भू–सेवा केन्द्र सञ्चालन निर्देशिका (पहिलो संशोधन), २०७८ बमोजिम भू–सेवा केन्द्र सञ्चालनमा ल्याइएको बैंकले जनाएको छ ।
बैंकले सञ्चालनमा ल्याएको नयाँ सेवा तथा सुविधाबाट घर तथा जग्गाको रोक्का तथा फुकुवा अब अनलाइनबाटै हुने भएको छ । भूमि व्यवस्थापन तथा अभिलेख विभागमा आयोजित समारोहमा भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालयका सचिव रामप्रसाद थपलिया तथा मेगा बैंक नेपाल लिमिटेडका अध्यक्ष भोजबहादुर शाहको उपस्थितिमा अनलाइन प्रणालीमार्फत धितो बन्धक रोक्का, रोक्का फुकुवा गर्ने सम्बन्धमा समझदारी पत्रमा हस्ताक्षर भएको बैंकले जनाएको छ ।
समझदारी पत्रमा मेगा बैंकका कायममुकायम प्रमुख कार्यकारी अधिकृत रविना देशराज श्रेष्ठ तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागका महानिर्देशक पिताम्बर घिमिरेले हस्ताक्षर गरेका छन् ।
भू–सेवा केन्द्र सञ्चालनमा आएपछि घरजग्गाको रोक्का तथा फुकुवाका लागि बैंकको प्रतिनिधि, जग्गा धनी तथा ऋणी सम्बन्धित मालपोत कार्यालयहरूमा उपस्थित नभई बैंककै भू–सेवा केन्द्रमा उपस्थित भई आवश्यक कागजपत्रहरू अनलाइनमार्फत पेश गरे पुग्ने छ ।
बैंकबाट रोक्का तथा फुकुवा कार्य गर्न सकिने हुँदा बैंक, सेवाग्राही तथा सम्बन्धित मालपोत कार्यालयहरूलाई समेत रोक्का तथा फुकुवा कार्यमा सहजीकरण हुने विश्वास मेगा बैंकको छ । यसबाट सेवाग्राही तथा बैंकको समय तथा लागतको समेत बचत हुन गई समयमा नै बैंकिङ्ग सुविधा उपभोग गर्न सकिनेछ भने मालपोत कार्यलयहरूमा समेत बैंकको रोक्का तथा फुकुवा कार्यका लागि सेवाग्राहीहरूको भीडमा कमी आई अझै प्रभावकारी ढंगबाट विश्वासनीय सेवा प्रवाह गर्ने वातावरण सिर्जना हुने मेगा बैंकले विश्वास लिएको छ ।
मेगा बैंकका अध्यक्ष शाह तथा कायम मुकायम प्रमुख कार्यकारी अधिकृत श्रेष्ठले बैंकबाट प्रवाह हुने बैंकिङ्ग सेवा सुविधाहरूलाई डिजिटलाइज गर्ने सन्दर्भमा मेगा बैंक सदैव अग्रस्थानमा रहेको बताएका छन् । बैंक तथा वित्तीय संस्थाहरूमा भू–सेवा केन्द्र सञ्चालनमा ल्याउने मेगा बैंक पहिलो बैंक भएकाले बैंकिङ्ग सेवा सुविधाहरूलाई डिजिटलाइज गर्ने बैंकको उद्देश्यमा अर्को कोशेढुङ्गा सावित भएको उनको भनाइ छ ।
घर, जग्गा रोक्का तथा फुकुवा कार्यलाई डिजिटलाइज गर्ने नेपाल सरकार, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण मन्त्रालय तथा भूमि व्यवस्थापन तथा अभिलेख विभागको योजनामा मेगा बैंक तथा वित्तीय संस्थाहरूमा पहिलो सदस्यको रूपमा सेवा सञ्चालन गर्न पाउनाका साथै नेपाल सरकारको डिजिटलाइजेशनसम्बन्धी योजनामा योगदान पुर्याउन पाएकोमा समेत बैंक गौरवान्वित भएको बैंकद्वारा विज्ञप्तिमा उल्लेख छ ।















प्रतिक्रिया