
काठमाडौं, ३ कात्तिक । निर्वाचन कसुर गरेको भन्दै नेकपा एकीकृत समाजवादी (नेकपा एस) का अध्यक्ष माधव कुमार नेपालाई कारबाही गर्न निर्वाचन आयोगले रौतहट प्रहरीलाई निर्देशन दिएपछि राष्ट्रिय राजनीतिमा नयाँ तरङ्ग छाएको छ ।
रौतहट निर्वाचन क्षेत्र नम्बर १ का प्रतिनिधिसभा सदस्यका उम्मेदवार समेत रहेका अध्यक्ष नेपाललाई कारबाही गर्न आयोगले बिहीबार जिल्ला प्रहरी कार्यालय रौतहटलाई निर्देशनसहित पत्राचार गरेको छ ।
आयोगको निर्देशनसँगै अब कसुरअनुसार माधवकुमार नेपाललाई प्रहरीले पक्राउ गरी दुई वर्षसम्म जेल सजाय गर्न सक्ने छ । निर्वाचन आयोगको निर्देशन अनुसार नेता नेपाललाई प्रहरीले अन्य फौजदारी अपराधको कसुरमाझैं अनुसन्धान गरी सजाय तोक्न सक्ने व्यवस्था निर्वाचन कानुमा छ ।
निर्वाचन आयोगले गरेको पत्राचारबारे दैनिक नेपालसँग कुरा गर्दै अधिवक्ता पुष्पराज पौडेलले निर्वाचन कसुर गरेका माधव नेपाललाई प्रहरीले पक्राउ गरेरै अनुसन्धान गर्नसक्ने बताए । ‘जसरी अन्य फौजदारी अपराधको कसुरमा प्रहरीले अभियुक्तमाथि अनुसन्धान गर्छ, सोही प्रकृतिको अनुसन्धान माधव नेपालमाथि पनि गर्न सक्छ,’ अधिवक्ता पौडेलले भने ।
सँगसँगै सत्ता गठबन्धनका नेता समेत रहेका नेपाललाई शक्तिको आडमा पक्राउ नगरी सामान्य जरीवाना मात्रै तोकेर उन्मुक्ति दिन सक्ने आशंका पनि जन्मिएको छ । निर्वाचन आयोगले प्रहरीको जुन इकाइ (रौतहट) लाई पत्राचार गरेको छ, त्यो इकाईका प्रहरी प्रमुख नेता नेपालकै पूर्व अङ्गरक्षक भएको बताइएको छ । यसबाट कसुरले तोकेको सजाय नेता नेपालले पाउँछन् कि उन्मुक्ति भन्ने वहस सुरू भएको हो ।
घटनाक्रमसँगै निर्वाचनलाई स्वच्छ, मर्यादित र धाँदलीरहित बनाउने सङ्कल्प बारम्बार व्यक्त गर्दै आएको देउवा सरकारलाई माधव नेपालमाथि कारबाही गरी कानुनको पालना गर्न चुनौती पनि थपिएको छ ।
निर्वाचन कसुर तथा सजायसम्बन्धी ऐन, २०७३ को दफा २० (१) (च) अनुसार उल्लेखित कसुरदारलाई एक लाख रूपैयाँ जरीवाना तथा दुई वर्षसम्म जेल सजाय वा दुवै सजाय गर्नसक्ने व्यवस्था छ ।
निर्वाचन कसुर तथा सजायसम्बन्धी व्यवस्था अनुसार कुनै पनि उम्मेदवार र उम्मेदवारका प्रतिनिधिले मतदातालाई कुनै पनि प्रकारको लोभलालच वा आर्थिक प्रलोभन देखाउन पाउँदैनन् । तर, पूर्व प्रधानमन्त्री समेत रहेका उम्मेदवार नेपालले आइतबार रौतहट क्षेत्र नम्बर १ मा आयोजित चुनावी कार्यक्रममा आफूले चुनाव जिते निःशुल्क रूपमा वैदेशिक रोजगारीमा पठाउने प्रलोभन देखाउँदै मत अपिल गरेका थिए ।
नेपालको अभिव्यक्ति जारी निर्वाचन आचारसंहिताविपरीत भएको भन्दै आयोगले कारबाही गर्न निर्देशन दिएको बताएको छ ।















प्रतिक्रिया