
काठमाडौं, १ कात्तिक । सर्वेक्षण वेबपोर्टल भूगोलपार्क डटकमले २०४८ सालदेखि २०७४ सालसम्मका सांसदहरूको तथ्याङ्क सार्वजनिक गरेको छ ।
मंगलबार रिपोर्टर्स क्लब नेपालमा पत्रकार सम्मेलनको आयोजना गरेर भूगोलपार्क डटकमले निर्वाचन आयोगमा भएका अहिलेसम्मका सांसदहरूको विवरण सार्वजनिक गरेको हो ।
पत्रकार सम्मेलनमा भूगोलपार्क डटकमका फाउण्डर सिमोन ढुंगानाले नेपालको तथ्याङ्कमा नयाँ आयाम सुरू गरिएको बताए । उक्त आयामले लोकतन्त्रलाई बलियो, सुदृढ बनाउने र जनतालाई मत दिने आधारमा निर्णय गर्ने प्वाइन्ट पनि हुने उनको भनाइ थियो ।
१६५ प्रत्यक्ष र ११० समानुपातिक उम्मेदवारहरू सबै र अब निर्वाचित उम्मेदवारहरूको प्रोफाइल पनि यसमा राखिने उनले जानकारी दिए ।
पुर्व प्रमुख निर्वाचन आयुक्त डा. भोजराज पोखरेलले सांसदहरूको विवरण संकलनमा चुनौती भएको बताए । पोखरेलले देशमा विगत ३० वर्षमा धेरै कुरामा परिवर्तनको अनुभुति गर्न पाए पनि असल शासनको अनुभूति गर्न नपाएको जनगुनासो ब्यापक रहेको उल्लेख गरे ।
यसैगरी, वरिष्ठ अधिवक्ता डा. दिनेश त्रिपाठीले देश यतिबेला लोकतन्त्रको महापर्व निर्वाचनमा होमिएको बताउँदै निर्वाचनमा उत्साहजनक सहभागिता जनाउन अपिल गरे । त्रिपाठीले नेताहरूबाट देशको विकास हुने आशा गर्नुनै जनताको मुुर्खता भएको धारणा व्यक्त गरे ।
उनले आवाजविहीनहरूका लागि लोकतन्त्र भए पनि पहिला–पहिला संसद्मा महिलाहरूको उपस्थिति कम भएको बताए ।
कार्यक्रम सञ्चालक विष्णु खड्काले सबैभन्दा थोरै २०५१ सालमा ७ जना सांसद र सबैभन्दा धेरै २०७४ सालमा ९१ जना रहेका बताए । सुरुदेखि नै महिलाहरु भन्दा पुरुषहरुले संसद्मा प्रतिनिधित्व गरेको देखिएको उनले उल्लेख गरे ।















प्रतिक्रिया