
भक्तपुर, ३१ असोज । नेकपा एमालेको पोलिटव्युरो सदस्य एवम् प्रतिनिधिसभाका लागि भक्तपुर निर्वाचन क्षेत्र नं. २ का एमाले उम्मेदवार महेश बस्नेतले आम नेपाली महिलाहरु न्यायिक फैसला गर्ने र एमालेलाई भोट हाल्ने बताएका छन् ।
अखिल नेपाल महिला संघ भक्तपुर क्षेत्र नं. २ ले आज थिमीमा आयोजना गरेको क्षेत्रीय भेलालाई सम्बोधन गर्दै नेता बस्नेतले नेपालको राजनीतिक तथा सामाजिक परिवर्तनमा महिलाले खेलेको भूमिका अतुलनीय रहेको उल्लेख गरे ।
महिला आन्दोलनकै उपलब्धीले अनेमसंघको पूर्वअध्यक्ष विद्यादेवी भण्डारी राष्ट्रपति हुन सफल भएको उल्लेख गर्दै उनले एमालेकै नेतृत्वमा प्रत्येक स्थानीय तहमा प्रमुख वा उपप्रमुख मध्ये एक जना महिला अनिवार्य व्यवस्था गर्न सकिएको दाबी गरेको छन् ।
एक महिला एमाले भए दर्जनौं व्यक्ति एमाले हुने उल्लेख गर्दै नेता बस्नेतले आगामी निर्वाचनमा एमालेलाई विजयी गराउन सबैभन्दा बढी महत्वपूर्ण जिम्मेवारी पनि महिलाकै हुने बताए ।
‘नेपालको राजनीतिक तथा सामाजिक परिवर्तन वा रुपान्तरणको लागि महिलाले खेलेको भूमिका अतुलनीय रहेको छ । त्यसमा पनि एमालेका महिलाले हक अधिकारलाई स्थापना गर्न मात्र हैन, मुलुकको आर्थिक तथा सामाजिक क्षेत्रको नेतृत्व समेत पुरुषले गरेको नेतृत्वभन्दा बढी सफल भएको हो,’ पूर्वमन्त्री समेत रहेका बस्नेतले भने, ‘एक महिला शिक्षित भयो भने त्यो परिवार नै शिक्षित हुन्छ । त्यसैले एउटा घरमा महिला एमाले भए उक्त घरपरिवार नै एमाले हुन्छन् । त्यसैले महिला एमालेको भोट बैंक हो । महिलाले न्यायिक फैसला गर्छन् । त्यसैले सोही अनुसार आगामी निर्वाचनमा केन्द्रीत भई महिला नेता तथा कार्यकर्ताहरु लाग्नुहोस् र देशभर एमालेलाई विजयी गराउनुस् ।’
मुलुकको विकास र समृद्धि गर्ने पार्टी भनेकै एमालेमात्र भएको उल्लेख गर्दै उनले एमालेलाई आगामी निर्वाचनमा हराउने गठबन्धनको कुनै पनि तागत नभएको दाबी गरे । एमालेको अध्यक्ष केपी शर्मा ओली नेतृत्वको सरकारको पालमा मुलुकभर साना तथा ठूला विकासका आयोजनाहरु असंख्य रुपमा सञ्चालन भएको तथ्यहरुलाई प्रस्तुत गर्दै उनले वर्तमान गठबन्धनको सरकार आएपछि देशमा विकासमा अध्यारो यात्रा शुरु भएको बताए ।
गठबन्धन सरकार आएसँगै भ्रष्टाचार, अनियमिता, मंहगी, चरम नातवाद, कृपावाद मौलाएको उल्लेख गर्दै उनले प्रधानमन्त्री शेरबहादुर देउवाको नेतृत्व आएसँगै केपी ओलीले नेपालको गुमेको भूमिसहितको चुच्चे नक्सालाई समेत बुच्चे बनाएको बताए ।
एमालेले आगामी निर्वाचन पछिको प्रधानमन्त्री ओलीलाई प्रस्तुत गरेको उल्लेख गर्दै उनले गठबन्धनले कसलाई प्रधानमन्त्री बनाउने ? भन्ने हालसम्म समेत निर्णयमा पुग्न नसकेको बताए ।
केपी ओली र शेरबहादुर देउवाको तुलना नै हुन नसक्ने उल्लेख गर्दै उनले ओलीको तुलनामा देउवा हास्य कलाकार भेलुबाजे जस्तोमात्र भएको दाबी गरे ।
‘मल ल्याउने केपी ओली की मल ल्याउन नसक्ने शेरबहादुर देउवा ठीक ? उद्योग खोलेर रोजगारीको वातावरण सृजना गर्ने ठीक की उद्योग बेच्ने देउवा ठीक ? विभिन्न प्रकारका विना धितोका सफ्ट लोनको दिएर रोजगारीको वातावरण सृजना गर्ने ओली ठीक की अर्थतन्त्र नै चौपट्ट पार्ने देउवा ठीक ?’ उनले प्रश्न गर्दै एमालेका उम्मेदवारलाई मत अपिल गरेका छन् ।















प्रतिक्रिया