
काठमाडौं, ३१ असोज । प्रधानमन्त्री शेरबहादुर देउवाले नेपाल प्रहरीको कार्यसम्पादन क्षमताको अन्तर्राष्ट्रिय स्तरबाट पनि प्रंशसा हुने गरेको बताएका छन् ।
६७औं प्रहरी दिवसको अवसरमा प्रहरी प्रधान कार्यालय, नक्सालमा सोमबार आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै प्रधानमन्त्री देउवाले सो कुरा बताएका हुन् । सीमित स्रोत र साधनका बीच नेपाल प्रहरीले उत्कृष्ट काम गर्न सफल भएको प्रधानमन्त्री देउवको भनाइ छ ।
वर्तमान युग सूचना प्रविधिको युग भएको भन्दै प्रधानमन्त्री देउवाले समयसँगै परिवर्तन हुन प्रहरीलाई निर्देशन समेत दिए । स्थानीय तहको निर्वाचनमा शान्तिपूर्ण रुपमा समपन्न गर्नका लागि नेपाल प्रहरीको भूमिका महत्वपूर्ण भएको उल्लेख गर्दै आगामी ४ मंसिरको निर्वाचन शान्तिपूर्ण बनाउनका लागि कुनै कसर बाँकी नराख्नेमा आफू विश्वस्त रहेको बताए ।
कार्यक्रममा प्रहरी महानिरीक्षक धिरजप्रताप सिंहले नेपाल प्रहरीले जनताको शान्ति सुरक्षालाई प्रमुख जिम्मेवारी ठान्दै काम गरिरहेको बताए । दिवसका अवसरमा पूर्वएआईजी राजेन्द्रबहादुर सिंहलाई नेपाल प्रहरीको लाइफटाइभ अचिभमेन्ट अवार्ड प्रदान गरिएको छ ।
३९ वर्ष नेपाल प्रहरीमा सेवा गर्नुभएका सिंहलाई प्रधानमन्त्री शेरबहादुर देउवाले उक्त अवार्ड प्रदान गरे । त्यस्तै कार्यक्रममा एक वर्षभित्र वीरगति प्राप्त अमर सहिदको परिवारजनलाई पनि सम्मान गरिएको थियो ।















प्रतिक्रिया