२ कार्तिक २०८३, सोमबार

एमाले उम्मेदवारको उद्घोष– समृद्ध भक्तपुर बनाउन हाम्रो उम्मेदवारी

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

भक्तपुर, ३० असोज । आसन्न प्रदेश तथा प्रतिनिधिसभा निर्वाचनका लागि नेकपा एमालेले तय गरेको भक्तपुरका उम्मेदवारहरूले भक्तपुरलाई समृद्ध जिल्ला बनाउने उद्घोष गरेका छन् ।

आइतबार प्रेस चौतारी भक्तपुर जिल्ला शाखाले आयोजना गरेको ‘नेकपा एमालेका उम्मेदवारसँग सञ्चारकर्मी’ विषयक कार्यक्रममा उनीहरूले भक्तपुरलाई समृद्ध र सुखी जिल्ला बनाउनका लागि आफूहरूको उम्मेदवारी रहेको बताएका हुन् ।

कार्यक्रममा एमाले भक्तपुर जिल्ला कमिटीका सचिव समेत रहेका निर्वाचन क्षेत्र न. १ (क) का उम्मेदवार मोहनवीर श्रेष्ठले चाँगुनारायण क्षेत्र पर्यटकीय स्थल भएकाले सो क्षेत्रको प्राकृतिक र सांस्कृतिक महत्वलाई संरक्षण गर्ने आफ्नो एजेण्डा रहेको बताए ।

कृषिलाई आधुनिकीकरण गर्दै आवश्यक स्थानमा सिंचाइको व्यवस्था गर्ने प्रतिबद्धता व्यक्त गरे । उनले सडकहरूको स्तरोन्नति र भक्तपुर–नगरकोट सडक खण्ड निर्माण प्रमुख प्राथमिकतामा रहने पनि बताएका छन् ।

कार्यक्रममा श्रेष्ठले महिलाहरूलाई शीपमुलक तालिमको व्यवस्था गरी आयआर्जन गर्ने बाटो देखाउने कार्यक्रम सञ्चालन गर्ने आफ्नो तयारी रहेको बताएका छन् । ‘भक्तपुरमा निर्माण हुने तयारीमा रहेको वीर अस्पताल र झौखेलमा बन्ने भनिएको अंग प्रत्यारोपण केन्द्रको तत्काल काम अगाडि बढाउन सम्बन्धित निकायमा ताकेता गर्नेछौँ,’ श्रेष्ठले भने ।

यस्तै भक्तपुर निर्वाचन क्षेत्र १ (ख) का उम्मेदवार नारायण शुन्दर सिन्तकलाले भक्तपुर नगरमा रहेको खानेपानी समस्या समाधान गर्नु आफ्नो मुख्य चुनावी मुद्दा भएको बताए । सिन्तकलाले भने, ‘हामीले जितेका राज्यको नीति नियममा रहेर काम गर्ने छौं, ख्वप कलेज सञ्चालन पनि सोही अनुसार गर्ने छौं ।’ विकृतिलाई हटाउने काममा आफू सधैं लाग्ने उनको भनाई छ ।

सो कार्यक्रममा निर्वाचन क्षेत्र न. १ का उम्मेदवार नवराज गेलालले इँट्टाभट्टाको प्रदुषणलाई हटाउन वैज्ञानिक तरिकाबाट सो उद्योग व्यवस्थापन गर्ने बताए । नियम विपरीत रहेका उद्योगलाई हटाउने प्रतिबद्धता उनले व्यक्त गरेका छन् ।

विगतदेखि नै चर्चा हुँदै आएको स्मार्टसीटीको परिकल्पना पूरा गर्ने र सो क्रममा कसैलाई पनि भूमिहीन नबनाउने योजना आफ्नो रहेको उनले बताए । जनताको समस्या समाधन गर्दै भक्तपुरका बासिन्दाले जिल्लामै सम्पूर्ण रोगको उपचार गर्न पाउने गरी भक्तपुर अस्पतालको अझैं स्तरोन्नति गरिने उनको भनाइ छ ।

जिल्लाका धेरै स्थानमा रहेको खानेपानीको समस्यालाई हल गर्ने र सरसफाईमा समेत विषेश ध्यान दिइने उनले बताएका छन् ।

त्यसैगरी भक्तपुर जिल्ला निर्वाचन क्षेत्र नं. २ (क) का उम्मेदवार किरण थापाले आफूले विगतमा गरेको कामलाई सम्झेर पार्टीले उम्मेदवार बनाएकाले जनताले माया गर्ने विश्वास व्यक्त गरे । उनले आफू अघिल्लो कार्यकालमा वडा अध्यक्ष हुदाँ ५० किलोमिटर सडको ट्रयाक खनेको, १५ किलोमिटर बाटो कालोपत्र गरेको र ६ किलोमिटरमा ढलको व्यवस्था गरेको जानकारी सो अवसरमा दिए ।

सामाजिक पृष्ठभूमी भएकाले पनि आफूलाई सूर्यविनाकयबासी मतदाताले साथ दिने उनको विश्वास छ । वडा अध्यक्ष हुँदा नै विद्यालय भवन निर्माण र शैक्षिक गुणस्तर बढाउन लागि परेको बताउँदै उनले उक्त अभियानलाई सांसद भएर थप तीव्र पार्ने उद्घोष गरेका छन् ।

‘कोरोना संक्रमणको बेलामा बिरामीलाई अस्पताल लान नपाउदाँ मैले आफ्नै गाडीमा राखेर लगेँ, अक्सिजन व्यवस्थापनमा लागेँ त्यसैले तीन पटक आफैं संक्रमित भएँ,’ थापाले भने, ‘जनप्रतिनिधि हुँदा राज्यले दिने सुविधा र भत्ताबाट मैले गरिब विद्यार्थीहरूको पढाईमा लगानी गरेको छु, एउटा जनप्रतिनिधिले गर्ने काम यिनै होइनन् र ?’

यस्तै भक्तपुर–२ (ख)का उम्मेदवार चन्दन कृृष्ण श्रेष्ठले सुखी नेपाली समृृद्ध नेपालको नारालाई साकार बनाउन आफू चुनावी मैदानमा आएको बताए । आफ्नो निर्वाचन क्षेत्र मध्यपुर थिमि नगरपालिकालाई दुई भागमा बाँडेर विकाश गर्नु पर्ने उनको भनाई छ ।

‘नेवाः समुदायको बस्ती भएकाले त्यहाँको कला, संस्कृति र परम्पराको संरक्षण गर्दै पर्यटनको विकाश गर्नु मेरो प्राथमिकताको विषय हो,’ उनले भने, ‘नयाँ बस्तीका जनताको सानो–सानो समस्या समाधान गर्ने योजना मेरो छ ।’

नेपाल कोरिया मैत्रीनगर अस्पतालाई अझै सुधार गर्नु पर्ने भएकाले त्यसतर्फ पनि ध्यान दिइने उनले बताए ।

प्रेस चौतारी भक्तपुर जिल्ला शाखाका अध्यक्ष हेमराज ढकालको अध्यक्षता रहेको कार्यक्रममा एमाले जिल्ला कमिटी अध्यक्ष बचन देउजा, प्रचार विभाग प्रमुख निरञ्जन बजगाई, सल्लाहकार कृष्णराम गेलाल, चाँगुनारायण नगर कमिटीका अध्यक्ष राम तिमिल्सिना, जिल्लामा सक्रिय सञ्चारकर्मीलगायतको उपस्थिति थियो ।