
काठमाडौं, ३० असोज । ‘समावेशी शहरवस्तीको आवश्यकता सबैको साझा प्रतिवद्धता’ भन्ने नाराका साथ भोलि सोमबार नेपालमा विश्व बसोबास दिवस मनाइने भएको छ ।
राष्ट्र संघको महासभाले सन् १९८५ मा अक्टोबर महिनाको पहिलो सोमबारलाई विश्व बसोबास दिवसका रुपमा मनाउने गरिएपनि यस बर्ष बडादशै परेकाले तेश्रो सोमबार मनाउन लागिएको शहरी विकास तथा भवन निर्माण विभागले जनाएको छ ।
आज आइतबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै विभागले दिवसका अवसरमा बिभिन्न अन्तक्र्रिया, गोष्ठीलगायत कार्यक्रमको आयोजना गरिएको जानकारी दिएको छ ।
विभागका सहसचिव एवम् विश्व बसोबास दिवस २०७९ मूल तयारी समितिका संयोजक रामचन्द्र दंगालले पछिल्लो जनगणना अनुसार नेपालको शहरी क्षेत्रको कुल जनसंख्या ६६ दशमलव ०८ प्रतिशत पुगेको जानकारी दिए ।
त्यस्तै यस बर्षको नाराले समावेशी शहरी बिकासलाई प्रमुख एजेण्डाका रुपमा स्वीकार गरिएको बताए । दंगालले जनता आवासको विवरण स्थानीय तहबाट अनाएका कारण निर्माण भएका संरचनाको एकीन तथ्याङ्क आउन नसकेको जिकिर गरे ।
बढ्दो शहरीकरणका कारण पूर्वाधार र सेवा सुविधाको अपर्याप्तता, बढ्दो वायू प्रदुषण, फोहोरमैला विसर्जन जस्ता समस्या अहिले ठूलो चुनौतीका रुपमा रहेको राष्ट्र संघले जनाएको छ । शहरी क्षेत्रमा बढ्दै गएको जनघनत्वका कारण देखापरेका समस्या र चुनौती तथा तीब्र शहरीकरणले शहरी आवागमनमा पारेको समस्या समाधान गर्न जनचेतना जगाउने उद्देश्यले यो दिवस मनाउन थालिएको हो ।















प्रतिक्रिया