काठमाडौं, २६ वैशाख । वरिष्ठ पत्रकार तथा ‘अन्नपूर्ण पोष्ट’ दैनिकका प्रधान सम्पादक युवराज घिमिरेलाई भारतले आफ्नो विरुद्ध समाचार लेखेको भन्दै धम्की दिएको छ ।
प्रधान सम्पादक घिमिरेलाई भारतीय राजदूतावासका एक अधिकारीले कुटनीतिक मर्यादा विपरित लगाएको आरोपप्रति नेपाल पत्रकार महासंघ गम्भीर भएको छ ।
प्रधान सम्पादक घिमिरेका अनुसार बिहीबार नेपालस्थित भारतीय दूतावासका प्रथम सचिव तथा प्रवक्ता अभय कुमारले अन्नपूर्ण पोष्टमा प्रकाशित समाचारमाथि आपत्ति जनाएर ‘पीत पत्रकारिता’ गरेको आरोप लगाउँदै धम्काएका थिए ।
विनाशकारी भूकम्पबाट प्रभावित भएर पनि देश र जनतालाई सू–सुचित गर्ने आफ्नो कर्तव्यबाट पछाडी नहटी दिनरात खटिरहेको नेपाली मिडियालाई सम्बन्धित सबैबाट सहयोग र सद्भाव व्यक्त हुनुको साटो स्वतन्त्र पत्रकारिताको मर्म विपरित यसरी आरोपित गरिनु निन्दनीय भएको भन्दै महासंघले आपत्ति जनाएको हो ।
नेपाली मिडियामा प्रकाशित कुनै समाचारबाट दूतावासलाई आपत्ति भएको भए उक्त विषयमा कुटनीतिक तहबाटै तथ्य के हो भन्ने कुरा सार्वजनिक गर्नुपर्नेमा व्यक्तिगतरुपमा प्रधान सम्पादकलाई आरोप लगाइनु आफैंमा नेपाली मिडिया तथा प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता माथिको ठाडो हस्तक्षेप भएको महासंघको ठहर छ ।
‘संचारकर्मीहरुलाई समाचार आफु अनुकुल भएन भन्दै आरोप लगाइनु कुनै पनि अर्थमा कुटनीतिक मर्यादा एवं स्वतन्त्र पत्रकारिताको मर्म अनुकुल हुन सक्दैन । महासंघ घट्नाको छानबिन र संस्थागत धारणाका लागि सम्बन्धित निकायको गम्भीर ध्यानाकर्षण गराउँद छ ।’ महासंघका महासचिव उजिर मगरद्धारा हस्ताक्षरित विज्ञप्तीमा उल्लेख छ ।















प्रतिक्रिया