
काठमाडौं, २८ असोज । काठमाडौं महानगरपालिकाले काठमाडौंको थापाथलीस्थित बागमती किनारमा रहेका अनधिकृत संरचनामा डोजर चलाएको छ ।
शुक्रबार थापाथलीमा रहेको रुद्रेश्वर महादेव भजन मण्डल, साइवावा भवन र क्रियापुत्री भवनमा महानगरले डोजर लगाएको हो ।
यसअघि बागमती सभ्यताले अनधिकृत संरचना भत्काउन खोजेको थियो । तर असफल भएपछि महानगरलाई अनधिकृत संरचनामा भत्काइदिन आग्रह गरेको थियो ।
बागमती किनारमा रहेका अनाधिकृत संरचनालाई निरन्तर हटाउने महानगर प्रहरी प्रमुख राजु पाण्डेले जानकारी दिए । महानगरले अनधिकृत संरचना हटाउने अभियान नै चलाएर बिभिन्न स्थानमा डोजर लगाइएको छ ।
थापाथली क्षेत्रमा सुकुम्वासीका नाममा नदी किनारको सार्वजनिक जग्गा कब्जा गरेर बस्नेलाई भने राजनीतिक संरक्षणका आधारमा केही नगरिएको भन्दै त्यस क्षेत्रमा विरोध पनि भइरहेको छ । सुकुम्वासीका नाममा नदी किनारको जग्गा कब्जा गर्नेलाई पनि त्यहाँबाट हटाउन नदी सफाइ अभियानकर्मीले माग गरेका छन् ।
राजधानीमा सुकुम्वासीका नाममा नदी किनारका सार्वजनिक जग्गा कब्जा गर्नेले सबैभन्दा बढी नदी प्रदूषित बनाउँछन् । सुकुम्वासीलाई इचङ्गुनारायणमा आवासीय भवन निर्माण गरेको वर्षौँ बिते पनि सर्न मानेका छैनन् ।















प्रतिक्रिया