२ कार्तिक २०८३, सोमबार

निर्वाचन आचारसंहिता अनुगमनको जिम्मेवारीबारे पत्रकार महासंघको आपत्ति

84
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २८ असोज । निर्वाचन आयोगले निर्वाचन आचारसंहिता अनुगमन गर्ने जिम्मेवारी राष्ट्रिय अनुसन्धान विभागलाई दिएकोप्रति नेपाल पत्रकार महासंघले आपत्ति जनाएको छ ।

निर्वाचन आचारसंहिताअन्तर्गत पत्रकार तथा सञ्चारमाध्यमका लागि उल्लेख आचारसंहिता समेत पालना भए/नभएको अनुगमन गर्ने जिम्मा आयोगले विभागलाई दिएको छ । उक्त निर्णयप्रति आपत्ति जनाउँदै महासंघले विज्ञप्ति जारी गरेर आपत्ति जनाएको हो ।

‘आचारसंहिताको पालना गरे/नगरेको अनुगमन गर्ने काम प्रेस काउन्सिल नेपालले गर्दै आएको छ,’ शुक्रबार महासंघका महासचिव रोशन पुरीले जारी गरेको विज्ञप्तिमा भनिएको छ, ‘नेपाली सञ्चारजगतले स्वनियमनको सिद्धान्तअनुसार सञ्चारक्षेत्र आफैंले बनाएको आचारसंहिता पालना गर्दै आइरहेकोतर्फ आयोगको ध्यानाकर्षण गराउँदै विभागमार्फतको अनुगमन नेपाली सञ्चार क्षेत्रलाई मान्य नहुने कुरा प्रष्ट पार्न चाहन्छौं ।’

यस्तै आयोगले चुनाव प्रचार÷प्रसारसम्बन्धी विज्ञापनको विषयमा अनलाइन सञ्चारमाध्यमप्रति विभेद गरेकोमा पनि महासंघको ध्यानाकर्षण भएको जनाइएको छ ।

‘लोकतन्त्रमा सबै सञ्चारमाध्यमको भूमिका समान हुने कुरामा महासंघ विश्वस्त छ । संवैधानिक आयोगबाटै भएको विभेद आपत्तिजनक भएकोले तत्काल सञ्चाएर सबै सञ्चारमाध्यमलाई समान व्यवहार गर्न र अनलाइन सञ्चारमाध्यमले पनि निर्वाचनका प्रचार÷प्रसारसम्बन्धी विज्ञापन प्रकाशन तथा प्रसारण गर्न पाउने व्यवस्था गर्न जोडदार माग गर्दछ,’ विज्ञप्तिमा भनिएको छ ।