२ कार्तिक २०८३, सोमबार

ठूलो मात्रामा जुत्ताचप्पल चोरी पैठारी हुँदा स्वदेशी जुत्ताचप्पल व्यवसायी मारमा

154
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २७ असोज । फुटवेयर म्यानुफ्याक्चरर्स एशोसिएशन अफ नेपालले वार्षिक ठूलो मात्रामा जुत्ताचप्पल चोरी पैठारी हुँदा स्वदेशी जुत्ताचप्पल व्यवसायीले मार खेप्न परिरहेको बताएको छ ।

बिहीबार काठमाडौंमा पत्रकार सम्मेलन गर्दै एशोसिएशनले देशको मागलाई धान्न सक्नेगरी उत्पादन गर्न सक्ने क्षमताको विकास भइसक्दा अनियन्त्रित रुपमा दक्षिणतिरको खुल्ला सीमाबाट हुने चोरी पैठारी र न्यून बिजकीकरणका कारण नेपाली व्यवसायी मारमा परेको जनाएको हो ।

वार्षिक दुई करोडभन्दा बढी जोर जुत्ताचप्पल चोरी पैठारी हुँदा नेपाली व्यवसायीले समस्या भोग्नुपरेको एशोसिएशनका अध्यक्ष नानीराज घिमिरेले बताए । आर्थिक वर्ष २०७८/७९ मा नेपालमा पाँच करोड ६५ लाख जोर जुत्ताचप्पल उत्पादन भएको र विदेशबाट दुई करोड ५९ लाख ८७ हजार एक सय ६३ जोर आयात भएको एशोसिएशनले जानकारी दिएको छ ।

अध्यक्ष घिमिरेले नेपाली उद्योगीहरुको वस्तुको प्रवद्र्धनमा सरकारले सहयोग गर्नुपर्ने बताए । उनले नेपालमा ९० प्रतिशत जुत्ता नेपाली उत्पादन भएको दाबी पनि गरेका छन् ।

आर्थिक वर्ष २०७८/७९ मा नेपालबाट रू. एक अर्ब ८८ लाख ३४ हजार एक सय १७ मूल्य बराबरको जुत्ताचप्पल निर्यात भएको एशोसियसनले जनाएको छ । भन्सार नाकामा गस्ती बढाउनका साथै सीमानाका रहेका जिल्ला प्रशासन प्रमुखलगायत राजस्व अनुसन्धान कार्यालयले बढी सक्रियताका साथ चोरी पैठारी नियन्त्रणमा लाग्नुपर्ने एशोसियसनको माग छ ।

पत्रकार सम्मेलनमा एसोसिएसनका उपाध्यक्ष रुद्रप्रसाद न्यौपानेले प्रेस विज्ञप्ति बाचन गर्दै नेपाली जुत्ताचप्पल उद्योग धराशयी हुने गतिविधि नरोकिए उत्पादित जुत्ताचप्पलले सिंहदरबार घेर्ने र त्यही जुत्ताचप्पलमाथि बसेर आत्मदाह गर्नुको विकल्प नरहेको बताएका छन् ।

‘नेपाली उद्योग धराशयी बन्ने विभिन्न गतिविधि खुलेआम भइरहँदा पनि राज्यले कुनै ध्यान नदिनु, हामीले पटक–पटक ध्यानाकर्षण गराउँदा पनि बेवास्ता गरिरहनु र उद्योगी व्यवसायीका संगठनहरूको दबाब सकेत निकम्माझैँ हुनुले हामी अत्यन्तै निराश बनिरहेका छौँ,’ भावुक हुँदै उपाध्यक्ष न्यौपानेले भने, ‘वास्तवमा हामीलाई आत्मदाहको परिकल्पनामा पुर्याउन बाध्य बनाइएको छ ।’