
काठमाडौं, २६ असोज । गैरआवासीय नेपालीहरूले आफूहरूलाई गैरआवासीय नागरिकता र मताधिकारको अधिकार दिलाउन नेपाल सरकार र सम्बन्धित राजनीतिक दलहरूसँग आग्रह गरेका छन् ।
‘ट्रष्ट फर विल्डिङ’ नाराका साथ मंगलबार र बुधबार काठमाडौंमा भएको गैरआवासीय नेपाली दिवस एवम् गैरआवासीय नेपाली संघको वार्षिक साधारण सभामार्फत उनीहरूले यस्तो आग्रह गरेका हुन् ।
संविधानमा व्यवस्था भएको सात वर्ष भइसक्दा पनि आवश्यक कानून नबन्दा गैरआवासीय नेपालीले नागरिकताको उपभोग गर्न नपाएको भन्दै उनीहरूले सो व्यवस्था उपभोगका लागि आवश्यक कानून बनाई यथाशक्य छिटो गैरआवासीय नेपाली नागरिकता कार्यान्वयनका लागि गैरआवासीय नेपाली संघ, नेपाल सरकार, राजनीतिक दल र सरोकारवाला सबैसँग आग्रह गरेका छन् ।
यस्तै उनीहरूले गैरआवासीय नेपाली नागरिकता प्राप्त गर्न कठिनाई हुने मुलुकमा बसोबास गर्ने नेपालीलाई हाल प्रदान गरिदै आएको गैरआवासीय नेपाली परिचयपत्रलाई थप अधिकारसहित निरन्तरता दिनाका साथै थाइल्याण्ड, म्यानमार, मलेसिया, फिजीलगायत देशहरुमा पुस्तौदेखि बसोबास गरी आएका नेपालीहरुलाई सहज रुपमा नेपालसँग जोड्न अधिकारसहितको परिचयपत्रका साथै नेपालमा अध्ययन भिसाको व्यवस्था गर्न अनुरोध गरेका छन् ।
त्यसैगरी विदेशमा बस्ने नेपाली नागरिकहरुलाई मताधिकारको व्यवस्था मिलाउन पनि उनीहरूले जोडदार माग गरेका छन् । त्यसका लागि आवश्यक ऐन, कानून निर्माण गर्नाका साथै नेपाली नागरिकताबाहक गैरआवासीय नेपालीहरुले सम्बन्धित देशस्थित नेपाली कुटनीतिक नियोगहरुमार्फत मतदाता नामावलीमा नाम दर्ता गर्ने एवम् राष्ट्रिय परिचयपत्र समेत बनाउन सक्ने व्यवस्था मिलाउनका लागि उनीहरूले आग्रह गरेका छन् ।















प्रतिक्रिया