३ मंसिर २०८३, बिहिबार

धनुषामा प्रतिनिधिसभामा छ जना र प्रदेशसभामा १० जना महिला उम्मेदवार

252
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

जनकपुरधाम, २६ असोज । आगामी मङ्सिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनका लागि धनुषामा प्रत्यक्षतर्फ महिला उम्मेदवारको सहभागिता न्यून देखिएको छ । प्रतिनिधिसभातर्फ धनुषाको चार वटै निर्वाचन क्षेत्रमा उम्मेदवारी दर्ता गराएका एक सय तीन जनाले मध्ये धनुषा क्षेत्र नं ३ मा नेकपा एमालेकी नेत्री जुली महतोसहित छ जना मात्र महिला उम्मेदवारी रहेका छन् ।

मधेस प्रदेशको राजधानी जनकपुरधामसमेत रहेको धनुषा क्षेत्र नं ३ मा प्रत्यक्षतर्फ ३१ जनाले उम्मेदवारी दर्ता गराउँदा नेकपा एमाले–जसपा गठबन्धनबाट एमाले नेत्री महतो, नेपाल जनता पार्टीबाट पुनम चौधरी र इतिहासिक प्रजातान्त्रिक जनता पार्टी नेपालबाट प्रविणाकुमारी ठाकुरले उम्मेदवारी दर्ता गराएको क्षेत्र नं ३ का निर्वाचन अधिकृत ब्रजेश प्याकुरेलले जानकारी दिए ।

उक्त क्षेत्रमा ज्योतिकुमारी साह, पूजा साह र मिलनकुमारी साहले स्वतन्त्र उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृत प्याकुरेलले बताए । त्यस्तै धनुषामा रहेको आठ वटा प्रदेशसभा सदस्य निर्वाचन क्षेत्रमा प्रत्यक्षतर्फ एक सय ३८ जनाले उम्मेदवारी दर्ता गराउँदा महिलाको सङ्ख्या १० जना मात्र रहेका छन् ।

प्रदेशसभातर्फ धनुषा क्षेत्र नं १ (क) र क्षेत्र नं १ (ख) मा १४÷१४ जनाले उम्मेदवारी दिँदा महिला उम्मेदवार सङ्ख्या शून्य छ । प्रदेशसभा धनुषा क्षेत्र नं २ (क) मा १४ जना र क्षेत्र नं २ ९ख० मा १७ जना उम्मेदवारी दर्ता गराउँदा सबै पुरुष उम्मेदवार नै छ । धनुषाको क्षेत्र नं ३ (क) मा पुनमदेवीदास तत्माले स्वतन्त्र रुपमा उम्मेदवारी दर्ता गराउनुभएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनुषा क्षेत्र नं ३ (ख) मा प्रदेशसभा सदस्यका लागि २७ जनाले उम्मेदवारी दिएका छन् । जसमा पाँच जना महिलाले स्वतन्त्र उम्मेदवारी दिएका छन् । किरणदेवी साह, पवनदेवी साह, बबिता कुमारी, मिनाक्षी पाण्डे र सीता कुमारीले सो क्षेत्रमा प्रदेशसभा सदस्य पदका उम्मेदवारी दर्ता गराएका छन् ।

प्रदेशसभा तर्फ धनुषा क्षेत्र नं ४ (क) मा १९ जनाले उम्मेदारी दिँदा तीन जना महिलाले उम्मेदवारी दिएका छन् । त्यहाँ नेपाल लोकतान्त्रिक पार्टीबाट आशादेवी साह, जनमत पार्टीबाट मिथलेशदेवी साह र राष्ट्रिय प्रजातन्त्र पार्टीबाट मीराकुमारी यादवले उम्मेदवारी दर्ता गराएको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।

धनुषा क्षेत्र नं ४ (ख) मा १३ जनाले उम्मेदवारी दर्ता गराउँदा जनता प्रगतिशील पार्टी नेपालबाट शोभा कार्कीले उम्मेदवारी गराएकी छन् । गत असोज २३ गते प्रतिनिधिसभा सदस्यका लागि धनुषामा ६६ जना स्वतन्त्र गरी एक सय तीन जना र प्रदेशसभाका लागि ७७ स्वतन्त्र गरी एक सय ३८ जनाले उम्मेदवारी मनोनयन दर्ता गराएका छन् ।

संविधान, ऐन र कानुनले महिलाको प्रतिनिधित्वको सुनिश्चितता गरिए पनि महिलालाई उम्मेदवार बनाउन राजनीति दलले नरुचाएका कारण यस्तो अवस्था देखिएको महिला अधिकारकर्मी तथा कानुन व्यवसायी पार्वती चौधरीले बताइन् ।आगामी निर्वाचनका लागि धनुषामा एक लाख ९३ हजार एक सय चार महिला र दुई लाख १६ हजार आठ सय ७५ पुरुष तथा अन्य ६ जना गरी कूल चार लाख नौ हजार नौ सय ८५ मतदाता कायम रहेको मधेस प्रदेश निर्वाचन कार्यालय जनकपुरधामका प्रमुख श्रीधर पन्थीले जानकारी दिए ।