
काठमाडौं, २५ असोज । विगत केही दिनदेखि परेको अविरल वर्षाका कारण देशका विभिन्न स्थानहरूमा बाढी तथा पहिरोका कारण प्रभावितहरूको नेपाली सेनाले उद्दार गरेको छ ।
नेपाली सेनाको जनशक्ति तथा श्रोत साधन प्रयोग गरी विभिन्न स्थानमा भएको उद्दार कार्यका केही तस्वीरहरू तल प्रस्तुत गरिएको छ ।
कैलाली जिल्लाको भजनी नगरपालिका वडा नं. ३ पक्रेडाँडाको डुवान प्रभावित ईलाकामा स्थानीयको उद्दार गर्नुका साथै राहत सामग्री समेत वितरण गरिएको छ ।

बाँके जिल्ला, डुडुवा गाउँपालिका, वडा नं. १, खडैचा कृषि चौफेरी गाउँमा राप्ति खोला र डुडुवा खोलाको पानी पसेर डुबानबाट प्रभावित स्थानीयहरुको उक्त गाउँपालिकासँग आवश्यक समन्वय गरि उद्दार कार्य गर्नुका साथै खाना र पानीको व्यवस्था गरिएको छ ।

कैलाली जिल्लाका विभिन्न डुबान प्रभावित ईलाकाहरुमा स्थानीय तथा तिनका अत्यावश्यक सामाग्रीहरु सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै बाढीको कारण हुलाकी राजमार्गमा आवत जावत गर्न समस्यामा परेका यात्रीहरुलाई सकुशल उद्दार गरिएको छ ।

जुम्ला जिल्लामा पहिरोमा परी घाइते भएकी एक महिला र एक पुरुष तथा कालीकोटका दुई जना पुरुषहरुलाई नेपाली सेनाको BELL हेलिकप्टर मार्फत उद्दार गरि सुर्खेतसम्म पुर्याईएको छ ।

बाँके जिल्लाको नेपालगञ्ज उपमहानगरपालिका वडा नं. २० रांझा, गायत्री टोल आसपासको क्षेत्र डुबानमा परि घर भित्र फसेका करिब ८२ घरधुरीका स्थानीय बासिन्दाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गर्नुका साथै डुडुवा गाँउपालिका वडा नं. १ खडैचा, चौफेरी गाउँका डुवान प्रभावित स्थानीय बासिन्दाहरुलाई सुरक्षित स्थानमा स्थानान्तरण गरिएको छ ।

बर्दिया जिल्लाको गुलरिया नगरपालिका वडा नं. ८, थपुवा ईलाका बबई नदीमा आएको बाढीले कटान गरी जोखिममा रहेको करिब ५० मिटर बाँध माटोको बोराद्वारा मरामत गरिएको छ ।

बारा जिल्लाको जितपुर सिमरा उपमहानगरपालिका वडा नं. २२ स्थित ३ नं. पुलमा भएको बस दुर्घटनामा परी मृत्यु भएका ६ जना महिला र १० जना पुरुष गरी जम्मा १६ जना र घाईते ३५ जनाको उद्दार कार्यमा सहयोग गरिएको छ ।















प्रतिक्रिया