
ओखलढुंगा, २५ असोज । मोलुङ गाउँपालिका वडा नं. ७ पात्ले ओखलढुंगाले वडाभित्र पशु वध गर्न निषेध गरेको छ ।
सार्वजनिक सूचना प्रकाशन गरेर वडा कार्यालयले गाई, गोरु, चौरीगाई काटमार र वेचविखन गर्न निषेध गरेको हो ।
वडाको टुकिसन्दो, सुर्के, घट्टेखोला, भाक्चिन्दो लगायतका क्षेत्रमा यसरी पशु वध गरी मासु विक्री वितरण गर्ने गरेको भन्ने जनगुनासोको आधारमा वडा सदस्य सोनाम शेर्पाले हस्ताक्षर गरी त्यसो नगर्न सूचना जारी गरेको स्थानीय मिङमार शेर्पाले जानकारी दिए ।
‘पशु वध गरी मासु किनवेच गर्ने, खाने गरेको पाइएकाले उप्रान्त त्यसो गरेमा कानून बमोजिम कडा कार्वाही हुने’ सूचनामा उल्लेख छ । वडाले यसरी कानूनले बर्जित गरेको कार्य गरेको प्रमाणसहित सूचना दिनेलाई पुरस्कृत गर्ने समेत जनाइएको छ ।
स्थानीय प्रहरी चौकी, आमा समूह, युवा क्लव, गुम्बा, नेपाल शेर्पा संघ लगायतको सहकार्यमा वडाले निर्णय कार्यान्वयन गर्ने र सहयोग गरी दिन प्रशासन लगायत आग्रह गरेको छ ।

यता, वडा अध्यक्ष हेमबहादुर सुनुवारले आफूँ दशै मनाउन काठमाडौं आएको र सूचनाको सम्वन्धमा कुनै जानकारी नभएको प्रतिक्रिया दिए । अध्यक्ष सुनुवारले तथ्य र प्रमाण वेगर अधिकार क्षेत्र नाघेर वडा सदस्यले आफूखुसी सूचना प्रकाशन गरेको भन्दै आपती जनाए । सो सम्वन्धमा थप छलफल गर्ने सुनुवारको भनाइ छ ।
वडाले आधिकारिक सूचनानै निकालेपछि विषय विवादित बनेको छ । नेपालको कानून अनुसार गाई, गोरु जस्ता पशुहरु काटमार गर्न पाइदैन । मुलुकी अपराध सहिंता २०७४ को परिच्छेद २७ को पशु–पन्छी सम्बन्धी कसुरको दफा २८९ को उपदफा २ बमोजिम गौ हत्यामा तीन वर्षकैद सजायको व्यवस्था छ ।
तर, आदिवासी समुदायले भने गाईगोरुको मासुलाई धार्मिक क्रियाकलाप र संस्कारमा समेत उपयोग गर्ने व्यवस्था रहेकोले प्रयोग गर्न पाउनुपर्ने माग दाबी गर्दै आएका छन् ।















प्रतिक्रिया