नवलपरासी, २४ असोज । आगामी मंसिर ४ गते हुने प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनअन्तर्गत पश्चिम नवलपरासीको निर्वाचन क्षेत्र नं २ (क) मा लुम्बिनी प्रदेशसभा सदस्य पदका लागि नेकपा एमालेबाट थानप्रसाद गैरेले उम्मेदवारी दर्ता गरेका छन् ।
एमाले र जसपाको तालमेलबाट उम्मेदवार बनेका गैरेले परासीस्थित मुख्य निर्वाचन अधिकृतको कार्यालयमा पुगेर आइतबार उम्मेदवारी मनोनयन गरेका हुन् ।
मनोनयन दर्तापछि उनले यस क्षेत्रको विकास र समृद्धिका लागि आफ्नो उम्मेदवारी रहेको बताएका छन् । विगतमा यस क्षेत्रमा एमालेकै नेतृत्वमा धेरै विकासका कामहरु भएको र बाँकी रहेका विकासको कामलाई पूरा गर्न एमालेकै आवश्यकता रहेकाले आफ्नो उम्मेदवारी रहेको उनको भनाइ छ ।
पश्चिम नवलपरासी जिल्लामा कम्युनिष्ट आन्दोलनमा लामो समयदेखि क्रियाशील गैरे हाल नेकपा एमाले लुम्बिनी प्रदेश कमिटी सदस्य छन् । संगठनका लागि दिनरात र घामपानी नभनी निरन्तर लागिरहने गैरे राजनीतिक र सामाजिक क्षेत्रमा उत्तिकै लोकप्रिय छन् ।
सुनवल क्षेत्रमा राजनीतिक, शैक्षिक, सहकारी, खानेपानीलगायत क्षेत्रमा लामो समयदेखि सक्रिय टीपी बाको नामले समेत परिचित गैरेको सुनवलको विकासमा महत्वपूर्ण योगदान रहेको छ । आगामी मंसिर ४ गते हुने निर्वाचनमा गैरे लुम्बिनी प्रदेशसभा सदस्य पदका लागि होमिएसँगै यो प्रदेश निर्वाचन क्षेत्रका नागरिकमा उत्साह जागेको छ ।
देश, जनता र पार्टीप्रति प्रतिबद्ध, जनहितमा निरन्तर लाग्ने, विकासप्रेमी, पार्टी नेता कार्यकर्ताका लागि प्रेरणादायी एवम् अभिभावकीय व्यक्तित्वको पहिचान दिन सफल गैरेलाई प्रदेशसभा सदस्यको रुपमा हेर्न यहाँका मतदाता आँतुर देखिएको पाइन्छ ।
को हुन् थानप्रसाद गैरे ?
तत्कालीन सुनवल गाविसका अध्यक्ष समेत रहेका गैरे वि.स. २०११ पुस २१ गते स्याङ्जाको वालिङ १३ मा जन्मिएका थिए । २०२२ मा परिवारसहित रुपन्देहीको आनन्दवन मणिग्राम बसाई सरि २०२९ सम्म त्यहाँ रहँदा सात कक्षासम्म अध्ययन गरी २०३० सालदेखि सुनवलको विशासयमा गैरे स्थायी रुपमा बसोबास गर्दै आएका छन् ।
परासीको आदर्श माविबाट २०३४ मा एसएलसी उत्र्तीण गैरे २०३६ सालमा पञ्चायन विरोधी आन्दोलनमा लागेर औपचारिक रुपमा राजनीतिक क्षेत्रमा होमिएका थिए ।
तत्कालीन सुनवल पञ्चायत् भवन फटाहा विरोधी आन्दोलन अन्तर्गत उपप्रधानपञ्चलाई कालोमोसो लगाउने कामको नेतृत्व गरेका गैरेले दुई वर्षसम्म सार्वजनिक मुद्दा खेप्नुपरेको थियो ।
२०३७ सालमा तत्कालीन मजदुर किसान पार्टीमा संगठित भई जिल्ला कमिटीमा काम गरेका गैरेले २०४२ मा नेकपा मालेसँग एकीकरण भएपछि जिल्ला कमिटीमै रहेर काम गरे । उनी सुनवल पञ्चायतको अध्यक्षमा निर्वाचित भई जनपक्षीय काम गरी लोकप्रिय भएका व्यक्ति हुन् ।
२०४६ मा भएको पञ्चायतविरोधी आन्दोलनमा सुनवलको आन्दोलनको नेतृत्व गरेका गैरे पार्टीको संगठन विस्तारमा अविछिन्न रुपमा लागिरहने योद्धाका रुपमा परिचित छन् । २०४७ मा माले र माक्र्सवादीबीच एकीकरण भई नेकपा एमाले बनेपछि सुनवल क्षेत्रमा पार्टी संगठन निर्माणमा उनको ठूलो योगदान रहेको पार्टीपंक्तिका नेताहरू बताउँछन् ।
२०४९ र २०५४ को स्थानीय निकाय निर्वाचनमा एमालेको तर्फबाट उनी सुनवल गाविसको दुई पटक अध्यक्ष निर्वाचित भइसकेका छन् । २०४९ देखि २०५९ सम्म दुई कार्यकाल सुनवल गाविसको अध्यक्ष हुँदा लोकप्रिय कामहरुको सुरुवात गरी सुनवलवासीको मनमा बस्न सफल गैरे जनताका मनमा बस्न सफल मानिन्छन् ।
आफ्नो कार्यकालमै सो गाविसमा नक्सा पास गरेर मात्र भौतिक संरचना निर्माण गर्नुपर्ने, बाटो २० फुट भन्दा कम निर्माण नगर्ने लगयातका कार्यक्रमको थालनी गरेका थिए । त्यस्तै शिक्षा क्षेत्रलाई उच्च महत्व दिँदै विद्यालयको स्तरवृद्धि गर्दै उच्च माविसम्म र क्याम्पस स्थापनामा समेत उनको विशेष योगदान रहेको स्थानीय बताउँछन् ।
राजनीतिक क्षेत्रमा मात्रै होइन गैरे सामाजिक क्षेत्रमा पनि उत्तिकै क्रियाशील र लोकप्रिय छन् । सुनवलको शिक्षा, खानेपानी, सहकारीलगायत समग्र विकासमा उनको उच्च योगदान छ । सुनवलको जनसेवा मावि विशासयमा २०३५ देखि २०३७ सम्म उनले शिक्षकको रुपमा काम गरेका थिए ।
पछि उक्त विद्यालयको दुई कार्यकाल विद्यालय व्यवस्थापन समिति सदस्य र अध्यक्ष समेत भएर काम गरे । महाकवि देवकोटा उमावि सुनवलको अध्यक्ष तथा महाकवि देवकोटा क्याम्पसको संस्थापक अध्यक्ष भएर समेत उनले शिक्षा क्षेत्रमा अतुलनीय योगदान गरेका छन् । सुनवलकै सोमनाथ बाबा क्याम्पसमा समेत दुई कार्यकाल अध्यक्ष चलाएको अनुभव गैरेसँग छ ।
सुनवलमा सुनवल खानेपानी संस्थाको स्थापना गरी सुनवलवासीलाई शुद्ध पिउने पानीको व्यवस्थापन गर्न पनि गैरेको महत्वपूर्ण योगदान छ । उक्त संस्थाको १५ वर्षसम्म नेतृत्व गर्दै शुद्ध खानेपानी र सरसफाई अभियान चलाउँदै आएका गैरे हाल खानेपानी तथा सरसफाइ उपभोक्ता महासंघको लुम्बिनी प्रदेश संयोजकको रुपमा कार्यरत छन् ।
जनकल्याण बहुउद्देश्यीय सहकारी संस्था सुनवलको अध्यक्ष समेत रहेका गैरे मदन भण्डारी फाउण्डेसनको जिल्ला अध्यक्ष एवम् प्रदेश सदस्य पनि हुन् । जनतासँग जोडिएका विभिन्न कामको नेतृत्व र थालनी गरेका गैरेलाई अमूल्य मत दिएर विजयी गराउन उनीसम्बद्ध पार्टीले मतदातासमक्ष आह्वान समेत गरेको छ ।
















प्रतिक्रिया