
कालीकोट, २४ असोज । कालीकोटमा छोराको शव जलिरहेको अवस्थामा पहिरो खस्दा बुबासहित १३ जना मलामी पुरिएका छन् ।
स्थानीय राचुली नदी किनारमा तिलागुफा नगरपालिका–४ का १८ वर्षीय हेमराज शाहीको शव जलिरहेका बेला माथिबाट खसेको पहिरोले उनीहरूलाई पुरेको हो ।
भारी वर्षा भए पनि शाहीको अन्तिम संस्कारका लागि गाउँका करिब ६० जना मलामी गएका थिए । गत सातादेखि नै कालिकोटमा लगातार वर्षा भइरहेको थियो ।
स्थानीय प्रहरीका अनुसार सोही पहिरोले १० भन्दा बढी घर पनि बगाएको छ । चार घण्टा पैदल हिँडेर प्रहरी टोली घटनास्थल पुगेको छ र बेपत्ता भएकाहरुको खोजी कार्य जारी छ ।
को–को पुरिए पहिरोमा ?
प्रहरीका अनुसार बेपत्ता हुनेमा तिलागुफा नगरपालिका–४ राँचुलीका ४७ वर्षीय कालीबहादुर शाही, ६३ वर्षीय धनबहादुर शाही, ३६ वर्षीय क्षेत्रजंग शाही, २८ वर्षीय खगेन्द्र शाही, २३ वर्षीय भेषबहादुर शाही, ५५ वर्षीय धनबहादुर शाही, ७६ वर्षीय अली शाही, २३ वर्षीय खेमराज शाही, ५७ वर्षीय मानबहादुर शाही, ४१ वर्षीय मोतिलाल शाही, ५६ वर्षीय परबहादुर शाही, २४ वर्षीय नरेश शाही र २२ वर्षीय प्रशान्त शाही रहेका छन् ।
बेपत्ता हुनेहरु मृतकका नजिकका आफन्त र नातागोताका बढी छन् ।















प्रतिक्रिया