२ कार्तिक २०८३, सोमबार

एकता, संघर्ष र रुपान्तरणको नियम नबुझ्नेले प्रचण्ड र मेरो सम्बन्ध बुझ्दैनन् : डा. भट्टराई

336
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, २४ असोज । नेपाल समाजवादी पार्टीका अध्यक्ष डा. बाबुराम भट्टराईले एकता, संघर्ष र रुपान्तरणको नियम नबुझ्नेले माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ र आफूबीचको सम्बन्ध नबुझ्ने बताएका छन् ।

यसअघि आफू निर्वाचित गोरखा निर्वाचन क्षेत्र नं. २ माओवादी अध्यक्ष दाहाललाई सुम्पिएका डा. भट्टराईले आज सोमबार यस्तो टिप्पणी गरेका हुन् ।

उनले आज ट्वीटरमा लेखेका छन्–

प्रचण्ड र बाबुरामको एकता र संघर्षको सम्बन्धको अन्तर्य बुझ्न धेरैलाई कठीन हुनु स्वाभाविक छ । तर जीवन र जगतको Unity of Opposites र Unity-Struggle-Transformation को नियम बुझ्नेलाई यो खीर खाए जत्तिकै सजिलो छ ! जनयुद्ध त्यही सम्बन्धबाट सफल भएको थियो । अबको सम्बृद्धि-अभियान त्यसैबाट सफल हुन्छ !

सँगै जनयुद्ध लडेका बाबुराम भट्टराईले यसअघि प्रचण्डलाई चरम भ्रष्टचारी र पदको भोको रहेको आरोप लगाउँदै माओवादी केन्द्र परित्याग गरेका थिए । माओवादी छोडेपछि भट्टराईले नयाँशक्ति पार्टी गठन गरेका थिए ।

नयाँशक्ति पार्टीलाई अगाडि बढाउन असफल उनले छोटो समयमै सो पार्टीलाई मधेशवादी पार्टी जनता समाजवादीमा विलय गराएका थिए । त्यहाँ पनि टिक्न नसकेका उनले पछिल्लो समय नेपाल समाजवादी पार्टी गठन गरेका छन् ।

तर, सो पार्टीबाट समेत आफू असुरक्षित रहेको महसुससँगै उनले आफूद्वारा चरम भ्रष्टाचारी र पदलोलुपको आरोप लगाइएका प्रचण्डसँगै सहकार्य अगाडि बढाएका छन् । त्यतिमात्र नभइ आफूले भारी मतले जितेको गोरखा–२ प्रचण्डलाई सुम्पिएका छन् ।

डा. भट्टराईकै समर्थनमा प्रचण्डले हिजो गोरखा–२ मा आफ्नो उम्मेदवारी दर्ता गराएका छन् । त्यसकै भोलिपल्ट आज प्रचण्ड र आफूबीचको संघर्ष र एकताको परिस्थिति स्मरण गरेका हुन् । उनले आफू प्रत्यक्ष चुनाव नलड्ने घोषणा गरेका छन् र कतै पनि उम्मेदवारी दिएका छैनन् ।

गोरखा–२ मा मनोनयन गराएका प्रचण्ड चितवन क्षेत्र नं ३ बाट एकल सिफारिस परेका थिए । अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट निर्वाचित भएका प्रचण्ड यसपटक पनि चितवन ३ बाटै उम्मेदवार बन्ने चर्चा थियो । तर, एमालेबाट आफूलाई चितवन असुरक्षित महसुस गरेका प्रचण्डले गोरखा–२ बाट मनोनयन दर्ता गराएका हुन् ।

यो निर्वाचन क्षेत्रमा प्रचण्डसँग नेकपा एमालेबाट अब्दुस मियाँ भिड्दैछन् ।