जनकपुरधाम, २५ वैशाख । एक करोड ५० लाख रुपैयाँभन्दा बढी ठगी गर्ने महिलालाई संरक्षण दिएको भन्दै पीडित महिलाले इलाका प्रहरी कार्यालय महेन्द्रनगरअगाडि नाराबाजी गर्दै धर्ना दिएका छन् ।
क्षिरेश्वरनाथ नगरपालिका–५ बस्ने अन्दाजी ३५ वर्षीया गीतादेवी चौधरीले आकर्षक ब्याजको लोभ देखाई त्यस क्षेत्रमा करिब ८० महिलाबाट एक करोड ५० लाख रुपैयाँ ठगी गरेको आरोप लगाइएको छ । ती महिलालाई प्रहरीले कारबाही गर्नुको सट्टा संरक्षण दिएको भन्दै पीडित महिला तथा उनका आफन्तले प्रहरी कार्यालयको मूलढोका अगाडि नाराबाजी गर्दै धर्ना दिएकाले जनकपुर ढल्केवर सडकखण्डमा चल्ने सवारीसाधन पनि केही समयका लागि अवरुद्ध भएको थियो ।
एकीकृत नेकपा (माओवादी)का नेता विजय यादवको नेतृत्वमा करिब एक घन्टासम्म त्यहाँ प्रहरीसँग धम्साधम्सी भएको थियो । पीडित बिमलादेवी यादवले चौधरीले रु एक लाखको एक हप्तामा १० हजार ब्याज दिने भन्दै आफूसँग रु २० लाख रकम लिएको आरोप लगाइन् । फरकफरक मितिमा चौधरीले आफूसँग पैसा लिएको उनको भनाइ छ ।
त्यस्तै, अर्की पीडित महिला चन्दा राउतले आफूसँग चौधरीले १२ लाख रुपैयाँ लिएको र माग्दा दिन आनाकानी गर्दै आएपछि बाध्य भएर जिल्ला प्रशासन कार्यालयमा ठगीको उजुरी दिएको बताइन् । यस सम्बन्धमा इलाका प्रहरी कार्यालय महेन्द्रनगरका प्रहरी निरीक्षक मनोहर झाले दुवै पक्षबीच पैसा लेनदेनको कुरा सत्य रहेको भए पनि कुनै कानुनी आधार नरहेकाले प्रहरी कामकारबाहीमा कठिनाइ भइरहेको बताउनुभयो । रासस















प्रतिक्रिया