
प्यूठान, १४ असोज । नेकपा एमालेका पोलिट्ब्युरो सदस्य एवं प्युठान जिल्ला इन्चार्ज सूर्य थापा चुनाव केन्द्रीत अभियानमा सक्रिय छन् ।
प्यूठानको झिमरूक गाउँपालिका–१ मा जन्मेका थापा यहाँ लामो समयदेखि निर्वाचन क्षेत्रमा पार्टीका चुनावी गतिविधिमा सहभागी छन् । निर्वाचनमा पार्टीलाई जिताउन र संगठन बलियो बनाउन पार्टी कार्यक्रम बनाएर उनी निरन्तर प्यूठानका घर गाउँमा पुगिरहेका हुन् ।
एमाले प्यूठानबाट प्रतिनिधिसभा तथा प्रदेश सभा सदस्यका लागि सर्वसम्मत रुपमा उम्मेदवार टुंगाइसकेको छ । प्रतिनिधिसभा तर्फ एमालेका ‘अलराउन्डर’ युवा नेता सूर्य थापा, प्रदेश ‘क’ मा तुल्सीराम शर्मा र प्रदेश ‘ख’ मा हरि प्रसाद रिजालको नाम सर्वसम्मत रुपमा सिफारिस भएको छ ।

जिल्लामा दिनहुँ हुने विभिन्न पार्टी कार्यक्रममा प्यूठान इन्चार्ज तथा प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार थापा सहितका नेता पुग्ने गरेका छन् । उनीहरुले आगामी मंसिर ४ गते हुने निर्वाचनमा विगतमा एमालेले देशव्यापी रुपमा गरेको विकासका काम,आगामी दिनका लक्ष्य र पार्टीका एजेन्डालाई मतदातामाझ पुर्याउन कार्यकर्तालाई निर्देशन दिएका छन् ।
पार्टीका नेता कार्यकर्ता समेत उत्साहित भएर संगठन निर्माण तथा परिचालनमा लागेको एमाले प्युठानले जनाएको छ । निर्वाचन लक्षित कार्यक्रम तथा योजना बनाउनका लागि पार्टीले जिल्ला कमिटी, प्रदेश क्षेत्रीय कमिटी, विभिन्न विभाग, जनसंगठन कमिटी लगायतको बैठक तथा भेला गर्दै आएको छ ।
जिल्लाका सबै स्थानीय तहको पालिका कमिटीको बैठक बस्न थालेका छन् । प्यूठानमा विभिन्न पार्टी छाडेर धेरै नेता/कार्यकर्ता एमालेमा गोलबन्द भएको बताउँदै यो क्रम अझै जारी रहने पोलिटव्यूरो सदस्य एवं प्यूठान इन्चार्ज थापाले बताए ।
















प्रतिक्रिया