३ कार्तिक २०८३, मंगलबार

‘स्वतन्त्र’को नाममा दल खडा गरेर भ्रम सृजना गरिएकोप्रति आपत्ति

630
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १३ असोज । स्वतन्त्र उम्मेदवारहरुले विभिन्न दल गठन गरेर स्वतन्त्र अभियानविरुद्ध षड्यन्त्र भइरहेको बताएका छन् ।

उनीहरुले वास्तविक स्वतन्त्र अभियानकर्ताहरुले देशमा असफल भइसकेका संघीयता र समानुपातिक निर्वाचन प्रणाली खारेजीको एजेण्डा बोकेपछि आत्तिएकाहरुले ‘स्वतन्त्र’ नामको पार्टी नै गठन गरेको बताएका छन् ।

स्वतन्त्र नागरिक सञ्जालका संयोजक दिनेश सुवेदीले स्वतन्त्रको नामलाई नकारात्मक असर पार्ने गरी भएका गतिविधिप्रति आपत्ति जनाए । उनले दल दर्ता गरेर उनीहरुको चुनाव चिह्न लिनेहरु स्वतन्त्र हुन नसक्ने बताए ।

सुवेदीले अहिले भएका राजनीतिक दलहरुले सही बाटो नहिडेको टिप्पणी गरे । उनले भने, ‘जति दल छन् तीनीहरु राजनीतिक दलजस्तो भएनन, नेता नेताजस्तो भएनन्, प्रणाली सहि प्रणाली भएन ।’

त्यस्तै ललितपुर क्षेत्र नं २ का प्रतिनिधि सभाका स्वतन्त्र उम्मेदवार घोषणा गरेका डा. दीपेश केसीले स्वतन्त्रको नाममा दल गठन गरेर स्वतन्त्रको अस्तित्व समाप्त पार्न खोजिएको बताए । स्वतन्त्र अभियान र आन्दोलनविरुद्ध सबै एकजुट हुनुपर्नेमा उनको जोड छ ।

केसीले स्वतन्त्र र दलीय उम्मेदवार चिन्न र सचेत हुन सबैलाई आग्रह गरे । उनले यो षड्यन्त्रलाई चिर्दै अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताए ।

केसीले संघीयता, समानुपातिक निर्वाचन प्रणाली नेपाली जनताको चाहना र भावना नभएकाले चुनावमार्फत् अस्वीकृत हुने दाबी समेत गरेका छन् । देशमा इतिहासलाई नामेट पार्ने र भविष्यका पुस्तालाई खतरामा पार्ने षड्यन्त्रहरु भइरहेको उनको भनाइ छ ।