
काठमाडौं, १२ असोज । अखिल नेपाल फुटबल संघ (एन्फा) को कार्यसमिति सदस्यमा रुपेश अधिकारी र दिपेन्द्र धिमाल बिजयी भएका छन् ।
एन्फाको बुधबार बसेको विशेष साधारण सभाले अधिकारी र धिमाललाई निर्वाचित गरेको एन्फाका महासचिव किरण राईले जानकारी दिए ।
धिकारीले सर्वाधिक ५४ र धिमालले ४७ मत प्राप्त गर्दै बिजयी भएको उनले बताए । उनीहरूका प्रतिस्पर्धीद्वय लोकेन्द्र गुरुङले ४५ र दीपक थापाले ७ मत प्राप्त गरे ।
यो नतिजासँगै २१ सदस्यीय कार्यसमिति पूर्ण भएको छ । विशेष साधारण सभाले एन्फाको वर्तमान कार्यकालले चार बर्षभित्र देशका विभिन्न स्थानमा १० देखि १२ स्थानमा ट्रेनिङ सेन्टर स्थापना गर्ने नीति पास गरेको छ ।
साधारणसभाले मोहन कुमार इन्वाङ संयोजक रहेको पाँच सदस्यीय अनुशासन समिति गठन गरको महासचिव राईले बताए । त्यस्तै फुटसल खेल सञ्चालन, नियमन र सहजीकरणका लागि कार्यविधि बनाएको र त्यसलाई विशेष साधारण सभाले अनुमोदन गरेको उनले जानकारी दिए ।
एन्फाले फुटबललाई थप व्यावसायिक गर्दै जिकास गर्न विभिन्न कार्यक्रम गर्ने योजना समेत बनाएको जनाएको छ ।















प्रतिक्रिया