३ कार्तिक २०८३, मंगलबार

स्वर्गीय उज्ज्वल थापाको पुस्तक ‘ह्वाई नेपाल’ प्रकाशन हुँदै

98
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

काठमाडौं, १० असोज । युवा नेता, उद्यमी तथा सामाजिक अभियन्ताको परिचय बनाएका दिवंगत उज्ज्वल थापाको किताब ‘ह्वाइ नेपाल’ प्रकाशन हुने भएको छ ।

थापाले आफ्नै जीवनकालमा तयार पारेको किताब सम्पादनपछि प्रकाशन गर्न लागिएको प्रकाशन संस्था यात्रा पब्लिसिङ हाउसले जानकारी गराएको हो ।

‘राजनीति, उद्यम र समृद्ध नेपालको परिकल्पनामाथि थापाले जीवनको पछिल्लो कालखण्डमा गरेको श्रृङ्खलाबद्ध लेखनलाई किताबको स्वरूपमा प्रकाशन गर्न लागिएको हो,’ यात्रा पब्लिसिङ हाउसका अध्यक्ष ऋषिराम अधिकारीले भने, ‘किताबलाई उनले नै अन्तिम स्वरूप दिएका थिए । तर, सम्पादन जारी रहँदै उनको कोभिड संक्रमण भएर निधन भयो । हामीले सम्पादन प्रक्रिया सकेर किताब प्रकाशन गर्न लागेका हौं ।’

नेपालको उज्वल भविष्यप्रति विश्वस्त थापाले त्यसलाई विभिन्न आयामबाट गरेको विष्लेषण किताबमा पढ्न पाइने अधिकारीले बताए । उनका अनुसार किताबमा नेपाली राजनीति, उद्यम र भविष्यको सपनाबारे सरल भाषामा पढ्न पाइनेछ । किताबमा थापाको विचार र अनुभवका साथै उनकै जीवनकथासमेत समेटिएको छ ।

‘यो किताब उज्वलको सपनाको लेख्य रूपान्तरण हो । त्यसैले उनी आफैंले यो किताबको प्रस्तुतिकरण र भाषामाथि प्रशस्तै काम गरेका थिए’, उज्वल थापा फाउन्डेसनकी अध्यक्ष तथा थापापत्नी एरिका अधिकारीले भनिन्, ‘यो किताब उज्वललाई व्यक्तिगत रूपमा चिन्नमात्रै होइन, उनको विचार र उनले परिकल्पना गरेको नेपाललाई समेत गहिरोगरी चिन्न मद्दत पुग्नेछ ।’

पुस्तकमा थापाले गरेका स्केचहरूसमेत समेटिएको छ । जसमा नेपाली राजनीति र समाजबारे कलात्मक र व्यंग्यात्मक अभिव्यक्ति रहेको यात्रा पब्लिसिङ हाउसका प्रमुख कार्यकारी अधिकृत सुवास अर्यालले बताए ।

उनका अनुसार किताबमा थापाले आफ्नै जीवनको सफलता र असफलताका कथासमेत रोचक रूपमा प्रस्तुत गरेका छन् । जसमा उनले आफूले गरेका यात्राका कथा र त्यसआधारमा गरिएको नेपाली समाजको विष्लेषणसमेत समेटिएको छ ।

किताबमा नेपालको राजनीति र नेतृत्वको चरित्र, उद्यमशीलताको वर्तमान अवस्था र भविष्यको सम्भावना, नेपाललाई रूपान्तरण गर्नका लागि हरेक नागरिकले सुरू गर्नुपर्ने परिवर्तनको अभियान आदिबारे विभिन्न उपशीर्षकमा व्याख्या गरिएको छ ।