३ कार्तिक २०८३, मंगलबार

पूर्व एसएसपीसहित ७०० जनालाई एमाले प्रवेश गराउँदै ओलीले भने– १४ महिनामा देश बर्बाद भयो

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

झापा, १० असोज । नेकपा एमालेका अध्य केपी शर्मा ओलीले गठबन्धन सरकारले १४ महिनामा देश बर्बाद पारेको बताएका छन् ।

झापाको दमकमा हिजो आइतबार बृहत् पार्टी प्रवेश कार्यक्रमलाई सम्बोधन गर्दै अध्यक्ष ओलीले अब कसैले पनि गठबन्धनको जालझेलमा अलमलिनेअवस्था नभएको बताए ।

कार्यक्रममा सशस्त्र प्रहरीका पूर्व एसएसपी भरतबाबु कार्कीसहित विभिन्न पार्टीबाट सातसय भन्दा बढी मानिस एमालेमा प्रवेश गरेका थिए ।

एमालेले अघि बढाएका सबै विकास निर्माणका काममा अहिले रोकावट आएको र गठबन्धन सरकारले देशलाई निरन्तर ओरालोतिर लगेको भन्दै अध्यक्ष ओलीले २१औं शताब्दीका जनताले मुलुकको विकास कुन पार्टीले गर्नसक्छ भनेर बुझ्न आवश्यक रहेको बताए ।

उनले आगामी मंसिर ४ गते हुने निर्वाचनमा एमालेको बहुमतको सरकार निर्माण आवश्यक रहेकोमा जोड दिँदै भने, ‘नेकपा एमाले विजयी हुनु भनेको हामीले शुरू गरेको विकास र समृद्धि यात्राको विजय हो । एमाले पराजित हुनु भनेको यो अभियान पराजित हुनु हो ।’

नेपालमा ३०औं वर्षसम्म नबनेका सडक, भौतिक पूर्वाधार विकासका काम एमालेको सरकारले तीन वर्षको कार्यकालमा भएको, हजारौं पुल बनेका, तुइनका ठाउँमा पुल बनाई तुइनमुक्त युगमा प्रवेश गरेको ओलीको भनाइ छ ।

अध्यक्ष ओलीले देशमा भएको एकमात्र अन्तर्राष्ट्रिय विमानस्थललाई अत्याधुनिक बनाउनाका साथै क्षमता बृद्धि गरिएको, राष्ट्रिय र क्षेत्रीय स्तरका विमास्थलको स्तरउन्नति गरिएको पनि बताए ।

कार्यक्रममा केही दिनअघि मात्र एमालेमा प्रवेश गरेका नेपाल प्रहरीका पूर्व प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालले अबको मुलुक हाँक्ने क्षमता एमाले र यसका अध्यक्ष केपी ओलीमा मात्र भएको धारणा व्यक्त गरे ।