१ कार्तिक २०८३, आइतबार

नवौँ राष्ट्रिय खेलकुद: प्रदेश सरकारद्वारा पाँच करोड ८६ लाख बजेट निकासा

126
Shares

फन्ट परिवर्तन गर्नुहोस:

  • change font
  • change font
  • change font

कास्की, ६ असोज । आसन्न नवौँ राष्ट्रिय खेलकुद प्रतियोगिताका लागि गण्डकी प्रदेश सरकारले रु पाँच करोड ८६ लाख निकासा गरेको छ ।

प्रदेश सरकारले प्रतियोगिताको तयारीअन्तर्गत खेलाडी छनोट र बन्द प्रशिक्षण सञ्चालन गर्न हालसम्म सो रकम उपलब्ध गराएको हो । राष्ट्रिय खेलकुदका लागि प्रदेशको तयारीमा रहेको सरकारले पछिल्लो पटक रु एक करोड ४० लाख थप बजेट उपलव्ध गराएको प्रदेशका अर्थमन्त्री रामजीप्रसाद बरालले बताए।

राष्ट्रिय खेलकुद परिषद्को आयोजना र खेलकुद पत्रकार मञ्च गण्डकीका संयोजनमा पोखरामा सञ्चालन भएको दुई दिनको खेल पत्रकारिता तालिमको समापन समारोहमा उनले चालु वर्षको रातो किताबमा विनियोजित रु एक करोड, प्रतियोगिताका लागि भदौ पहिलो साता उपलब्ध गराइएको र तीन करोड ४६ लाख र पछिल्लोपटक रु एक करोड ४० लाख निकासा गरिएको जानकारी दिए ।

प्रदेशमा खेलाडीको बन्द प्रशिक्षण, खेल सामग्री, खेलाडी छनोट र विशेष प्रशिक्षणका लागि प्रदेश खेलकुद परिषद्को मागअनुसार मन्त्रालयबाट सो रकम निकासा गरिएको अर्थमन्त्री बरालले बताए । उनले भने, “राष्ट्रिय प्रतियोगिताका लागि प्रदेशको तयारीमा बजेटको अभाव हुन दिएका छैनौँ, खेलाडीको आधारभूत आवश्यकता पूर्तिका लागि सरकारले मागअनुसारको बजेट दिएको छ ।”

राष्ट्रिय खेलकुद आयोजना, यसको व्यवस्थापन खर्च र पूर्वाधार निर्माणलगायतको सम्पूर्ण जिम्मेवारी सङ्घीय सरकारको हो । स्थानीय आयोजकसमेत रहेको प्रदेश सरकारले प्रतियोगिताका लागि आफ्नो टिमको तयारी र प्रशिक्षणको खर्च बेहोर्नुपर्दछ । नवौँका लागि राष्ट्रिय खेलकुद परिषद्ले यसअघि सातै प्रदेशलाई रु ४९ लाखका दरले बजेट उपलब्ध गराएको थियो ।

कार्यक्रममा अर्थमन्त्री बरालले गण्डकी प्रदेशमा ४० वर्षपछि हुन लागेको राष्ट्रिय खेलकुद सफल बनाउनु सबै प्रदेशवासीको दायित्व रहेको बताउँदै सञ्चारकर्मीले पत्रकारिताका माध्यमबाट योगदान गर्न आग्रह गरे । उनले खेलकुद क्षेत्रमा रहेको विकृतिका बारेमा समेत कलम चलाउन आग्रह गरे ।

तालिममा गण्डकीका १० जिल्लाका ७० जना खेल पत्रकारलाई आसन्न राष्ट्रिय खेलकुदको समाचार सम्प्रेशणका बारेमा प्रशिक्षण दिइएको थियो । राष्ट्रिय खेलकुदका ३६ वटै खेलका नियम, खेल नतिजाको विधि, खेल अनुशासन, लगायतका विषयमा सम्बन्धित खेलका प्रशिक्षकले जानकारी प्रदान गरी पत्रकारलाई सबै खेल विधामा समाचार सम्प्रेषणमा तालिमले सक्षम बनाएको खेलकुद पत्रकार मञ्च गण्डकीका अध्यक्ष दिननाथ बरालले बताए ।

नवौँ राष्ट्रिय खेलकुद यही असोज २८ गतेदेखि कात्तिक ३ गतेसम्म गण्डकी प्रदेशका सात जिल्लामा आयोजना हुँदैछ । प्रतियोगिताको उद्घाटन र समापन समारोहसहित अधिकांश खेल पोखरा रङ्गशालामा हुनेछ । गण्डकीमा दोस्रो पटक राष्ट्रिय खेलकुद हुन लागेको हो । यसअघि पहिलोपटक विसं २०३९ चैतमा यहाँ प्रतियोगिता भएको थियो ।